![]()
वीरगन्ज । प्रदेश नम्बर- २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले संघीय सरकारले संघीयता समाप्त पार्ने चलखेल गरिरहेको आरोप लगाएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का महामन्त्री समेत रहेका मन्त्री सोनलले केपी ओली नेतृत्वको संघीय सरकार र कर्मचारीतन्त्र संघीयता समाप्त गर्ने चलखेलमा लागेको बताए।
राजपाले मङगलबार बाराको कलैयामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सोनलले प्रदेश सरकारलाई असहयोग गरेर मुलुकमा अस्थिरता कायम गरी संघीयतालाइ विफल पार्ने योजना बनाएर संघीय सरकार लागेको र उस्कै निर्देशनमा कर्मचारीले पनि प्रदेश सरकारलाई असहयोग गरिरहेको बताए।
मन्त्री सोनलले प्रदेश-२ को सरकारले ल्याएको ‘प्रदेश प्रहरी ऐन’ मा संघीय सरकारले अनाहकमा बखेडा झिकेर प्रदेश सरकारलाई काम गर्नबाट रोख्न खोजेको आरोप समेत लगाए। मन्त्री सोनलले प्रदेश सरकारलाई असहयोग गर्ने संघीय सरकारको सीमा अब समाप्त भइसकेको भन्दै प्रदेश सरकार संघीय सरकारसँग वारपारको लडाइँ लड्न तयार रहेको चेतावनी पनि दिए।
सेवा केन्द्र विस्तारको नाममा कलैयाबाट सरकारी कार्यालय सीमरामा सार्ने संघीय सरकारको निर्णय आफूलाई मान्य नहुने पनि उनले बताए।


