Breaking News.... EverestOnlineKhabar
October 3, 2026

कम्युनिष्टसंग मिल्नु हुँदैन भन्ने बल्ल थाहा पाए : देउवा

Loading

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् ।

छत्तीसौँ बीपी स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय समितिद्वारा आइतबार आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो भन्दै कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बीपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए ।

आमरण अनशनरत प्रा डा गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले उनका माग सम्बोधन गर्न तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीका विचारबाट पार्टी विचलित नभएको स्पष्ट पार्दै भने, “बीपीले परिकल्पना गरेअनुसार संविधानसभाबाट संविधान जारी भएको र ग्रामीण क्षेत्रको विकासका लागि २०४८ सालयता कांग्रेसले विभिन्न कार्यक्रम अघि बढाएको छ ।”
ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय चिकित्सा शिक्षा पुगोस् भन्ने प्रा डा केसीका माग उपेक्षा गरेर सरकार दमनमा उत्रिएको आरोप लगाए । कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बीपीले मार्गनिर्देशन गरेको सिद्धान्त आत्मसात् गरे मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ भन्दै पार्टीभित्रका गुटउपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed