![]()
काठमाडौ,साउन ।
सरकारले‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ लाई आज प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी गरेको छ। जुम्लामा अनसनरत डा.गोविन्द केसीसँग वार्ता भइरहेको भन्दै सरकारको आग्रहमा संसदले विधेयकलाई सम्भावित कार्यसूचीमा राखेको छ। विधेयकमा ३ वटा विरोधको सूचना दर्ता भएका छन्। नेपाली कांग्रेसका सांसद गगनकुमार थापा, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरिले दर्ता गराएको विरोधको सूचना सम्भावित कार्यसूचीमा रहेको छ। विधेयक टेवुल गर्ने प्रस्ताव चौथो नम्बरमा राखिएको छ।
आइतबार उक्त विधेयक कार्यसूचीमा रहेको भएपनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरुद्ध गरेपछि बैठक स्थगित भएको थियो। डा केसीका विषयमा सहमति नभएपनि प्रतिनिधिसभाले भने सम्भावित कार्यसूचीमा राखेको छ। सरकार भने विधेयक प्रक्रियामा लगेर टुङ्गो लगाउनु पर्ने पक्षमा छ। तर प्रतिपक्ष र डा केसीको भने विधेयक फिर्ता लिएर संशोधनसहित पुन दर्ता हुनुपर्ने माग छ।
सम्भावित कार्यसूची अनुसार प्रमुख प्रतिपक्ष कांग्रेस सांसद थापाको चिकित्सा शिक्षा विधेयकमाथि विरोधको सूचना पहिलो स्थानमा छ। उक्त सूचनामा निर्णयपछि प्रेम सुवाल र सरिता गिरिको विरोधको सूचना पेश हुने छ। उक्त प्रक्रिया सम्पन्न भएपछि सरकारले विधेयक अगाडि बडाउने कार्यसूचीमा राखेको छ।
तर,प्रमुखप्रतिपक्ष दल नेपाली कांग्रेसले भने विधेयक जस्ताको तेस्तै ल्याए संसद बैठक अबरुद्ध गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।


