![]()
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औँ महाधिवेशनको मिति आगामी साउन २३ का लागि तोकिएको छ। महाधिवेशनको मुखैमा अध्यक्ष नैनसिंह महरले नीलकण्ठ रिजाल र कृष्णकुमारी बस्नेतलाई उपाध्यक्षमा मनोनीत गरेपछि असन्तुष्ट पक्षले यसको विरोध गरेको छ।
वैशाख २७ मा दुबैलाई उपाध्यक्षमा मनोनित गरेको पत्रमा उल्लेख गरिए पनि हालैमात्र सामाजिक सञ्जालबाट यसबारे जानकारी दिइएको असन्तुष्ट पक्षको आरोप छ।
यसैगरी अध्यक्षको कदमको विरोधमा ११ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बनेका मनोजमणि आचार्य, महामन्त्रीका प्रत्यासीद्वय दीपक भट्टराई र हिमालदत्त श्रेष्ठले संयुक्त बिज्ञप्ती निकालेका छन । विज्ञप्तिमा संगठन व्यक्तिले नभई विधिले चल्नुपर्ने जिकिर गरिएको छ। तीनैजना पौडेल पक्षबाट महाधिवेशनमा उत्रिएका थिए।

दुई तिहाईको बाम सरकारले जनताको ढाड सेक्ने गरि गरिएको चरम महङ्गी र कुण्ठित हुँदै गैरहेको प्रजातान्त्रिक हक अधिकार रक्षाका लागि सबै मिलेर संघर्ष गर्नुपर्ने अवस्थामा नेतृत्वले अवैधानिक क्रियाकलाप गरेर संघलाई बिभाजन र कमजोर बनाएको बिज्ञप्तीमा उल्लेख छ ।
उनीहरुले हास्यास्पद मनोनयनहरु खारेज गरी १२औं महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका छन । संगठन व्यक्तिले नभई बिधिले संचालन गर्नुपर्ने मान्यताबाट आफूहरु कहिल्यै पछि नहटने पनि बिज्ञप्तीमा उल्लेख छ ।
महाधिवेशन नजिकै आइरहेको बेला भाँड्ने कार्यमा अध्यक्ष नै उत्तेजित भएर लागेको उनीहरुको आरोप छ ।


