![]()
काठमाडौ,असार ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा.कुलप्रसाद कोइरालाले विदेश भ्रमणका लागि अनुमति नलिएको दावी गरेको छ । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले एक विज्ञप्ति जारी गर्दै उपकुलपति कोइरालाले तालुक मन्त्रालयबाट विदेश जाने अनुमति नलिएको बताएका छन् ।
विज्ञप्तीमा भनिएको छः‘सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित पदाधिकारीको हेीसयतमा वैदेशिक भ्रमण गर्दा प्रचलित कानूनबमोजिम सम्बन्धित तालुक निकायबाट अनुमति लिनुपर्ने प्रावधान भए तापनि प्रा.डा. कुलप्रसाद कोइरालाले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका हैसियतले कुलपति वा सहकुलपति वा यस मन्त्रालयबाट कुनै पनि प्रकारको अनुमति लिनुभएको छैन ।’
क्यानडामा हुन लागेको संस्कृत सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदै गरेका कोइरालालाई शनिबार साँझ विमानस्थलबाट फर्काइएको थियो । कोइरालालाई विमानस्थलबाट अपहरण शैलीमा प्रधानमन्त्री निवासमा ल्याएर राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला शिक्षा मन्त्रालयले कोइरालाले अनुमति नलिएको जनाएको हो ।
उसले सञ्चार माध्यममा आएको समाचारलाई कपोलकल्पित भएको दावी गर्दै भ्रममा नपर्न समेत आग्रह गरेको छ ।


