![]()
बीबीसी । दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएको समाचार छ । यस क्षेत्रबाट विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । दुई हप्तायतादेखि सो क्षेत्रमा द्वन्द्व झन बढेको छ ।
संयुक्त राष्ट्रसंघीय निकायले दिएको जानकारी अनुसार सिरियाको प्राय दक्षिणी क्षेत्र द्वन्द्वले आक्रान्त बनेको छ । जसका कारण सो क्षेत्रमा आतङ्ककारीहरुको पनि घुसपैठ भइरहेको छ । यसअघि विगत लामो समयदेखि यहाँका विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले केही हप्ताअघि कारबाही थालेका थिए ।
त्यहाँ आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो । सो क्षेत्रमा लामो समयदेखि विद्रोहीको धरपकड रहेको अधिकारीहरुले बताएका थिए ।
झण्डै दुई हप्तादेखि भइरहेको क्रुरतापूर्वक हवाई तथा स्थलगत कारबाहीबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । सिरियामा सन् २०११ देखि सुरु भएको हिंसामा परी ४ लाख भन्दा बढी मानिस मारिएका छन् । सो हिंसाका कारण यहाँ ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँको तत्कालिन राष्ट्रपति बसर अल असद्को राजिनामाको मागगर्दैै जनआन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।
एक तथ्याङ्क भन्छ सिरियाका ६३ लाख नागरिक शरणार्थीका रुपमा बाँच्न बाध्य छन् । देशबाहिर विस्थापित हुन पुगेकाको सङ्ख्या पनि लाखौँ छ । यसरी देश छोड्न बाध्य ती नागरिक विभिन्न छिमेकी देशमा शरणार्थीको जिवन विताउन बाध्य भएका छन् ।


