![]()
एजेन्सी । बिश्वकप २०१८ का खेलहरु जारी छन । शुक्रबारबाट क्वार्टरफाइनलमा खेल सुरु हुँदैछन । यो अवस्थासम्म आइपुग्दा केही खेलाडीहरुले भने आफूलाई उत्कृष्ट सावित गरिसकेका छन ।
विश्वकप २०१८ मा चम्किएका खेलाडी
नेयमार, ब्राजिल
नेयमारको खेलकोभन्दा पनि ‘अभिनय’को चर्चा धेरै भयो । तर, फ्रेन्च क्लब पीएसजीका यी फरवार्डले मेक्सिकोविरुद्ध उत्कृष्ट खेले । लियोनल मेसी र किस्ट्रियानो रोनाल्डो घर फर्कंदै गर्दा उनले भने आफ्नो टिमलाई क्वार्टरफाइनलमा पुर्याए । उनले गरेको एक गोल र पासको मद्दतले नै ब्राजिलले मेक्सिकोलाई २–० ले हराउन सफल भयो ।
भिक्टर लिन्डेलोफ, स्वीडेन
स्वीडेनका भिक्टर लिन्डेलोफले आन्द्रेस ग्रान्भिस्तको ‘पार्टनरसीप’मा उत्कृष्ट खेल खेल्दै स्वीडेनलाई गोल खानबाट बचाए । उनी चम्किएपछि स्वीडेनले मंगलबार राति स्वीट्जरल्यान्डलाई एक गोलले हरायो र क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।
डियगो गोडिन, उरुग्वे
उरुग्वेका लागि बलियो खम्बाकारुपमा प्रस्तुत् हुँदै आएका डियगो गोडिन ‘सेन्टरब्याक पोजिसन’बाट खेल्दै आएका छन् । उनले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आक्रमणलाई रोक्न सफल भए ।
खेलमा उरुग्वेले दुई गोल गर्दा पोर्चुगलले एक गोलमात्रै गर्न सक्यो र प्रतियोगिताबाट बाहिरियो ।
डियगो लाक्साल्ट, उरुग्वे
उरुग्वेका ‘लेफ्ट ब्याक’ डिएगो लाक्साल्टले विश्वकप २०१८ मा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् । पोर्चुगलसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले फरवार्ड एडिसन काभानी र लुइस सुआरेजलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।
पाउल पोग्बा, फ्रान्स
फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा पोग्बा फ्रान्सको खेलको मुटुकारुपमा प्रस्तुत् भएका थिए । तर, उनको खासै चर्चा भएन । मिडफिल्ड सम्हाल्दै आक्रमणका लागि राम्रो बनाउँदै उनले एमबाप्पे, ग्रीजम्यान र जिराउडलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।
इगोर अकिनफेभ (गोलकिप्पर), रुस
प्रि क्वार्टरफाइनलमा स्पेनका कोके र इयागो आसपासको पेनाल्टी रोकेका रुसी गोलकिपर इगोर अकिनफेव पेनाल्टी सुटआउटको नायक बने । उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वार्टरफाइनलमा पुर्याउन भूमिका खेले ।
मारियो फर्नान्डेज, रुस
‘राइटब्याक’ मारियो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको ‘लेफ्ट विङ’को चुनौतीलाई धेरै हदसम्म विफल बनाए । उनको उत्कृष्ट खेलसँगै रुस स्पेनसँग १–१ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा पुग्यो । जसमा रुसले स्पेनलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।
ताकासी इनुई सेन्ट्रल मिडफिल्डर, जापान
जापान अन्तिम १६ बाटै बाहिरिएपनि ताकासी इनुइले धेरै सुन्दर गोल गरेका थिए । जसले बेल्जियमलाई धेरै दबाबमा राखेको थियो । खेल अवधिभर उनको मिडफिल्ड ‘मुभमेन्ट पास’ र ‘ड्रिबलिङ’ उत्कृष्ट थियो । तर, जापान प्रिक्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको छ ।
किलियन एमबाप्पे फरवार्ड, फ्रान्स
फ्रान्सका १९ वर्षीय फरवार्ड किलिएन एमबाप्पे अर्जेन्टिनाविरुद्धको प्रिक्वार्टरफाइलन खेलका स्टार हुन् । उत्कृष्ट ‘पेस’ र ‘फिनिस’को माध्यमले अर्जेन्टिनालाई नराम्रो हार चखाउँदै बिदा गरेका उनले आफूलाई विश्व फुटबलको उदाउँदो स्टारकारुपमा चिनाए । उनले उक्त प्रतियोगितामा दुई गोल गरेका थिए । जुन ब्राजिलका महान् खेलाडी पेलेको बराबरी हो ।
एडिन्सन काभानी फरवार्ड, उरुग्वे
एडिन्सन काभानीको लोभलाग्दो प्रदर्शनकै आधारमा उरुग्वेले पोर्चुगललाई बिदा गर्दै विश्वकपको क्वार्टरफाइनलका लागि आफ्नो स्थान सुरक्षित गर्यो । उनले पोर्चुगलको पोस्टमा दुई गोलमात्रै गरेनन्, लुइस सुआरेजसँग उनको ‘पार्टनसीप’ पनि धेरै नै उत्कृष्ट थियो ।
क्रिस्टियानो रोनाल्डो फरवार्ड, पोर्चुगल
२०१६ को युरोकपको विजेता टोलीको कप्तान क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा ४ गोल गरे । पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका उनले दोस्रो खेलमा मोरक्कोविरुद्ध गोल गरेर ‘गोल्डेन बुट’को बलियो दाबेदारी प्रस्तुत् गरेपनि उनको टोली प्रिक्वार्टरफाइनबाटै बाहिरएपछि उनी गोल्डेन बुटको होडबाट बाहिरिएका छन् ।


