![]()
काठमाडौ,असार ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात प्रदेशका ७५३ वटै स्थानीय तहका प्रत्येक वडाका बुथ तहदेखि नै प्रशिक्षण गर्ने भएको छ । गत निर्वाचनमा भोगेको पराजयको कमीकमजोरीलाई सुधार्न बुथ तहसम्म पुग्न लागेको कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिएका छन् । निर्वाचनमा भएको कमीकमजोरीका विषयमा केन्द्रमा भन्दा स्थानीय स्तरमा मतदानस्थल र बुथमा खट्ने नेता कार्यकर्ताहरूसँग बढी अनुभव भएकाले बुथ तहसम्म नै जाने तयारी गरिएको उनले बताए ।
निधिले आगामी महासमिति बैठकअघि नै नीति तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकारी कमिटी बनाएर स्थानीय स्तरसम्म प्रशिक्षण लैजाने जनाए । कांग्रेसले प्रशिक्षणमार्फत तल्लो तहदेखि नै कार्यकर्ताहरूलाई वैचारिक र संगठन सुदृढीकरण गर्ने लक्ष्यसहित प्रशिक्षण चलाउन लागेको हो ।
निधिले प्रशिक्षणमार्फत राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली तथा अहिंसा र शान्तिका पक्षमा नीतिगत बहस हुने बताए । पार्टीको नीति परिवर्तनका विषय र नेतृत्व निमार्णका विषयमा कार्यकर्ता प्रशिक्षित गर्ने तयारी भएको उनले बताए ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रशिक्षणका लागि केन्द्रमा प्रशिक्षण कमिटी बनाउने,‘करिकुलम’ लेख्ने र‘कोड अफ कन्डक्ट’ बनाउने काम भइरहेको बताए । उनले सबै प्रदेश र सबै निर्वाचन क्षेत्रका सबै स्थानमा प्रशिक्षण हुने बताए । ग्रामीण भेगदेखि नै दिने प्रशिक्षणको रणनीति नेतृत्वले पार्टी कार्यालयमा नै तयार पारिरहेको छ ।
आगामी भदौका लागि महासमिति बैठक बोलाएको कांग्रेसले प्रशिक्षण कार्यक्रमलाई निरन्तर रूपमा जारी राख्ने भएको हो ।


