![]()
एजेन्सी,असार ।
विश्वकप उपाधिको दाबेदार मानिएको टोली एक पछि अर्को गर्दै बाहिरिएका छन् । विश्वकपको उपाधिको सशक्त दाबेदार मानिएको स्पेन, पोर्चुगल, अर्जेन्टिना र जर्मनी बाहिरिएका हुन् । जर्मनी समूह चरणबाटै घर फर्किएको हो भने अर्जेन्टिना, स्पेन र पोर्चुगल नकआउट चरणबाट बाहिरिएका हुन् । विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भयो । निर्धारित ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा स्पेन रसियासँग ४–३ ले पराजित भएको हो । हारसँगै पूर्वविजेता समेत रहेको स्पेन नकआउट चरणबाटै घर फर्किन बाध्य भएको छ ।
यस्तै शनिबार भएको खेलमा पोर्चुगल उरुग्वेसँग २–१ ले पराजित भयो भने अर्जेन्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित भयो ।
यसैबीच,स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् । २०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरे । तर, कोके र आसपासको पेनाल्टी रसियन गोलरक्षकले रोक्दै स्पेनलाई घर पठाए ।
खेलपछि इनिस्टाले भनेका छन्ः‘यो वास्तविकता हो कि राष्ट्रिय टिमबाट यो मेरो अन्तिम खेल हो ।’ इनिस्टाले २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले २००८ र २०१२ मा युरोकप जिदाउन पनि महत्वपूर्ण भूमिका खेले । इनिस्टाको अन्तिम खेल भने सुखद रहेन । उनले भनेः‘यो मेरो जीवनको दुःखद दिन हो ।’


