Breaking News.... EverestOnlineKhabar
May 11, 2026

कानून मन्त्री तामाङको अभिव्यक्तिप्रति कांग्रेस आक्रोशित, प्रतिपक्षीसंग मर्यादित व्यवहार गर्न चेतावनी

Loading

काठमाडौं  । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय समिति गठनबारे कानुननमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको  बैठकको विशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका सचेतक पुष्पा भूसालले कानुनमन्त्रीले संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोप लगाइन् ।

आफूहरुले प्रमुख प्रतिपक्षको भूमिका निभाउन चाहेको भन्दै उनले संसदमा बसेर जनताको आवाज उठाउने बताइन् । ‘बाहिर सडकमा गएर रेलिङ भाँच्न चाहन्नौं किनकी हाम्रो लोकतन्त्रले त्यो सिकाएन,’ सचेतक भुसालले भनिन् ।

संविधान कार्यान्वयन गर्न ३५ वटा कानून पास गर्नुपर्ने भन्दै उनले त्यसबेला प्रमुख प्रतिपक्षको सहयोग चाहिन्छ कि चाहिँदैन ? भनेर कानुनमन्त्रीलाई प्रश्न गरिन् । सचेतक भुसालले मन्त्रीहरुको रवैयाले सरकार संविधान कार्यान्वयनमा नलागेको संकेत गरेको जिकिर गरिन् । कानुनमन्त्री तामाङले शनिबार एक कार्यक्रममा कांग्रेसले अंश खोजेको भन्दै सरकारमा आउन आग्रह गरेका थिए ।

यस्तै, विशेष समयमा बोल्दै सांसद राजन केसीले सरकारले उपत्यकाका विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषणा गरेर जनताको मौलिक हक कुण्ठित गरेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरे । यस्तै, प्रतिनिधिसभाको  शून्य समयमा सांसद गगन थापाले चिकित्सा शिक्षा विधेयक तोडमोड गर्न खोजेको भन्दै आपत्ति जनाए ।

अर्का सांसद कृष्णभक्त पोखरेलले आमाको नामबाट नागरिकता लिन अझै सहज नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद खगराज अधिकारीले बजारमा भइरहेको कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.