![]()
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन् । संसदको आइतबारको बैठकमा शुन्य समयमा बोल्दै थापाले कम्युनिस्ट परिभाषा अनुसारको दलाल पूँजीपतिको मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा सदनमा चिकित्सा शिक्षाको विधेयक ल्याइएको बताए।
उनले भने, ‘मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस्। जनताका छोराछोरीले निःशुल्क चिकित्सक बन्न पाउन् वा सस्तोमा पढ्न पाउन्। गाउँगाउँमा त्यो सेवा पुर्याइयोस् भनेर माग राख्ने डा गोबिन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने। दुईवटा कम्युनिस्ट पार्टी एकीकरण भएको उपलक्ष्यमा दुइटा कम्युनिस्ट पार्टीका महान् अध्यक्षलाई आफ्नो घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात ख्वाउने, कम्युनिस्ट परिभाषा अनुसारको दलाल पूँजीपतिको मेडिकल कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा सदनमा चिकित्सा शिक्षाको विधेयक ल्याउने सम्माननीय प्रधानमन्त्रीज्यूको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ। ’


