![]()
काठमाडौं । छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था झन बिग्रन थालेपछि कांग्रेस नेता अर्जुननरसिंह केसीसहित अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गरेका छन ।
आइतबार बीर अस्पताल पुगी अनसनरत अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि नेता केसीले सरकार संवदेनाहीन बनेको आरोप लगाउँदै दण्डहीनता बढाउन सरकार नै लागेको भन्दै आक्रोश व्यक्त गरे ।
गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३४ औं दिनमा आइपुग्दा थप बिग्रिएको छ ।
नेता केसीले भने, ‘‘उहाँ अनशन बसेको ३४ दिन भैसकेको छ । उहाँको अवस्था पहिलेभन्दा जटिल भएर गएको छ । अलि गम्भीर छ,’’
शरीर सुन्निदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइदै छ । ।
अधिकारकर्मी कनकमणि दीक्षित, चरण प्रसाईं, डा. केदारनरसिंह केसीसहित आइसियु कक्षमा पुगेका कांग्रेस नेता केसीले गंगामायासँग कुरा गर्न खोजे पनि उनले कुनै प्रतिक्रिया दिइनन् । अधिकारकर्मी प्रसाईंले गंगामायालाई नेता केसीले यसअघि संविधानसभामा कृष्णप्रसाद अधिकारीको हत्याका बारेमा पहिलो पटक आवाज उठाएको भनिरहँदा भने गंगामाया एकटकले नेता केसीलाई हेरिरहेकी थिइन् ।
अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको कांग्रेस नेता केसीको भनाइ थियो । उनले गंगामायाको मुद्दालाई जनस्तरमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै मानवअधिकारवादी र कांग्रेसको भ्रातृ संगठन नेविसंघलाई दववामूलक ढंगबाट परिवेश निर्माणमा लाग्न आग्रह गरे ।
अधिकारकर्मी प्रसाईंले संविधानले दिएको अधिकार माग्दा पनि सरकारले त्यसतर्फ ध्यान नदिएर मानवअधिकारको खिल्ली उडाएको प्रतिक्रिया दिए । प्रसाईंले गंगामायाको ज्यान तलमाथि भए त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले लिनुपर्ने पनि बताए ।
अनशन शुरु गर्दा उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् । अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरणपछि हत्या गरेका थिए ।
छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो ।


