![]()
एजेन्सी । बिश्वकप फुटबल अन्तर्गत नकआउट चरणको दोस्रो खेलमा पोर्चुगल र उरुग्वेबीच खेल हुँदैछ । दुवै टोलीबीच राती ११ः४५ मा खेल सुरु हुनेछ ।
फिस्ट रंगशालामा फरक तर शानदार पारामा अन्तिम १६ पुगेका दुई टिमको भिडन्त रोचक हुने अनुमान गरिएको छ । ३३ वर्षे रोनाल्डोका लागि जारी विश्वकप अत्यन्तै सुखद भइरहेको छ भने उरुग्वे एकै गोल नखाई समूह चरणका तीन खेल सम्पन्न गर्ने रुस विश्वकपमा एक्लो टिम हो । युरोपेली क्लब फुटबलमा सबभन्दा जब्बर मानिने एट्लेटिकोको रक्षापंक्ति नेतृत्व गर्ने गोडिनलाई पोष्ट सुरक्षित राख्ने काममा महारथ प्राप्त छ । गोडिन र उनका सहयात्रीहरुको उच्च प्रदर्शनका कारण वितेको सिजनमा सबैखाले प्रतियोगितामा गरी ३४ खेलमा एट्लेटिकोले कुनै गोल खाएको थिएन । यसैगरी उरुग्वेले पनि यो वर्ष खेलेका ६ खेलमा गोल खानु परेको छैन।
उता रोनाल्डो पनि गोल गर्नेमा उच्च फर्ममा छन् । जारी विश्वकपमामात्र उनले तीन खेलमा चार गोल गरिसकेका छन् । स्पेनविरुद्धको पहिलो खेलमा ३–३ को बराबरी नतिजा निकाल्दा ह्याट्रिक पूरा गरेका उनको अन्तर्राष्ट्रिय गोलसंख्या ८५ पुगिसकेको छ । जुन युरोपेली फुटबल इतिहासमै कुनै खेलाडीले गरेको सर्बाधिक अन्तर्राष्ट्रिय गोल हो । पछिल्लो दुई वर्षमा उनले गोडिनको एट्लेटिकोविरुद्ध रियालका लागि दुई पटक ह्याट्रिक गरिसकेका छन् ।
च्याम्पियन्स लिगको फाइनलमा रियालले दुई पटक एट्लेटिकोलाई पराजित गर्दा पनि रोनाल्डो र गोडिन दुई प्रतिद्वन्द्वी टिममा थिए । तर गत सिजन भ्यालेन्सियाका गोलकिपरसँग ठोक्किँदा दाँतमा चोट लागेपछि शल्यक्रिया गराउनु परेका गोडिनले पछिल्लो एक दशकमा रोनाल्डोलाई क्लब स्तरमा थुप्रै पटक निराश पारेका खेल पनि छन्।
इजिप्टविरुद्ध अन्तिम समयमा विजयी गोल गरेका जिमेनेज रुसमाथि ३–० को जित हासिल गर्दा चोटका कारण खेल्न नसके पनि शनिबार सेन्ट्रल डिफेन्समा गोडिनसँगै पहिलो रोजाईबाट खेल्नेछन् । त्यसैले इरानसँगको खेलमा पेनाल्टी खेर फालेका रोनाल्डो र उनको युरोपियन च्याम्पियन अन्तिम १६ मा उरुग्वेको साटो आयोजक रुसलाई प्रतिद्वन्द्वीका रुपमा चाहन्थे।
सेन्टर ब्याकको जब्बर प्रदर्शनसँगै इटालियन सिरी ‘ए’ मा जमेका रोडरिगो बेन्टान्कर, लुकास टोरेइरा र माटियास भेसिनोजस्ता मिडफिल्डरहरु पनि पोर्चुगलका चुनौती हुन् । साथमा वर्तमान विश्व फुटबलकै सबभन्दा सफल स्ट्राइकरहरु लुइस स्वारेज र इडिन्सन काभानीको उपस्थिती भएपछि उरुग्वे विश्वकपमा जुनसुकै टिमलाई निराश गर्न सक्षम मानिन्छ । गोल गर्ने स्वभाविक लयमा नरहे पनि स्वारेजले रुसमा दुई गोल गरिसकेका छन् । एक गोल थप्न सके उनी उरुग्वेका लागि विश्वकपमा सर्बाधिक गोल गर्ने १९५० का विश्व विजेता ओस्कार मिगुइजसँग बराबरी गर्नेछन् । मिगुइजको नाममा आठ विश्वकप गोल छन्।
टाबारेजको नेतृत्वमा दुई पटकको पूर्व विजेता उरुग्वे एक पटक विश्वकपको सेमिफाइनल पुगेको थियो भने एक पटक कोपा अमेरिकाको उपाधि जित्न सफल भएको थियो । पोर्चुगलले पनि दुई वर्षअघि फ्रान्समा युरोपियन च्याम्पियनसिप जितेको थियो।
रोनाल्डोलाई युवा प्रतिभाहरु बर्नार्डो सिल्भा र गोन्कालो गुइडसको साथ रहने हुँदा उरुग्वेले पोर्चुगललाई कमजोर आँक्ने छैन ।


