Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

भक्तपुर,असार ।
एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ । ३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा नियन्त्रण कार्यालयले दाबी गरेको छ ।
पहिलो दिन नतिजा प्रकाशन गर्दा ३.६५ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार ७ सय ७२ थियो ।कार्यालयका अनुसार त्रुटि सच्याएपछि उक्त संख्या बढेर १८ हजार ४ सय ३५ पुगेको छ । त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ९ सय ४१ छ । यसअघि ४७ हजार ८ सय ९६ जनाले मात्रै उक्त जीपीए प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको थियो ।
२.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या भने ५१ हजार ७ सय ९ बाट घटेर ५१ हजार १ सय ५ भएको कार्यालयका प्रवक्ता डिल्ली लुइँटेलले जानकारी दिए । कार्यालयले ग्रेडिङ (अक्षरांक) पद्धतिबाट ९ वटा श्रेणीमा नतिजा प्रकाशित गरेको थियो । तीमध्ये माथि उल्लेखित तीनवटा श्रेणीमा बढी गडबडी भएको लुइँटेलले स्विकारे ।
विद्यार्थीले विभिन्न विषयमा प्राप्त गरेको ९०, ७०, ५० र ३० प्राप्तांकलाई ग्रेडमा बदल्दा त्रुटि हुन पुगेको पारम्भिक अनुमान गरिएको छ । अझै रुजु गर्ने काम जारी छ । नियमिततर्फ साधारण र प्राविधिक धारका ४ लाख ६० हजार विद्यार्थीमध्ये ९ हजार ६४ को नतिजा बढेको हो । यीबाहेक विगत वर्षमा जस्तै सामान्य प्रकारका त्रुटि पनि छन् ।
शनिबार साँझ सार्वजनिक नतिजामा ४ जीपीए ल्याउने विद्यार्थी संख्या २४ थियो । त्यसको २४ घण्टापछि आइतबार साँझ कार्यालयले ग्रेडसिटमा त्रुटि भएको भन्दै गल्ती स्वीकार गरेर वेबसाइटमा अर्को नतिजा राखेको थियो । अहिले ४ जीपीए ल्याउनेको संख्या बढेर ७४ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.