![]()
काठमाडौ,असार ।
लगातारको वर्षापछि खसेको पहिरोले देशका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् । देशकै लाइफलाइन मानिने नारायणगढ–मुग्लिन खण्डको यात्रा पहिरोकै कारण कष्टकर बनेको छ भने अन्य सडक भएर यात्रा गर्ने यात्रुहरुले पनि सास्ती भोगिरहेका छन् । पहिरोले केही दिनदेखि अवरुद्ध मुग्लीन–नारायणगढ सडकखण्ड आज पनि अस्तव्यस्त छ । मंगलबार ११ घण्टापछि खुलेको सडकको ४ किलोमा बुधबार बिहानै पहिरो खसेपछि दुवैतर्फ गाडीहरु रोकिएका छन् ।
ढुंगा–माटोसहित झरेको पहिरोले दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
यता, पृथ्वी लोकमार्गअन्र्तगत बेनिघाट रोराङ गाँउपालीका–७ स्थित कृष्ण भीरमा पनि पहिरो खसेको छ । बिहान लेदो माटोसहितको खसेको पहिरोले चितवनबाट काठमाडौं आउँदै गरेको बा १२च ३८२१ नम्बरको कारको आधा भाग पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोकै कारण काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा१३च ५९८६ नम्बरको बोलेरो जीप पहिरोको बिचमा फसेको छ । इलाका प्रहरी कार्यालय बेनिघाटका अनुसार, घटनामा मानवीय क्षति भने भएको छैन । बिहान ५ः४५ देखि अवरुद्ध सडक खुलाउन अहिले प्रयास भइरहेको छ ।
उता, जाजरकोटको भेरी नगरपालिका–१, रातामाटेमा गएराति पहिरो जाँदा जाजरकोट–डोल्पा सडकखण्ड भएर चल्ने सवारी रोकिएका छन् । गएराति ९ बजे वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ ।
त्यस्तै, मकवानपुरको ईन्द्रसरोवर गाँउपालीका ४, महालक्ष्मी खोलानजिकै पनि पहिरो खसेको छ । केहीबेर ठप्प बनेको यो सडक अहिले एकतर्फी खुला गरिएको छ । बिहान २ः३० बजे खसेको पहिरोले फाखेल–काठमाडौं चल्ने सवारी साधन प्रभावित भएका थिए ।


