![]()
चितवन,असार ।
नारायणगढ–मुग्लिन सडक खण्डमा दिन–दिनै पहिरो जाने क्रम जारी छ । उक्त सडकखण्डमा आज पनि पहिरो गएपछि सडक अवरुद्ध बनेको छ । सडक खण्डको चार किलोमा आज बिहानै पहिरो खसेपछि आवागमन ठप्प हुन पुगेको हो । ठूलो पहिरो खसेकाले दुवैतिरका गाडी रोकिएका छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बिहान ६ बजे ४ किलोमा अर्को पहिरो खसेपछि आवागमन ठप्प भएको जानकारी दिए । जिल्ला ट्राफिक कार्यालय, चितवनले ठूलो पहिरो सडकमा आएर बसेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो हटाएर सडक खुलाउन प्रयास भइरहेको जनाएको छ । ठूलो पहिरो खसेकाले सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी सुझाव छ ।
पछिल्लो समय नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण हरेक दिनजसो अवरुद्ध हुन थालेको छ । सोमबार र मंगलबार पनि यसैगरी पहिरो खस्दा यात्रुले सास्ती पाएका थिए । मंगलबार ११ घन्टापछि खुलेको सडकमा पहिरो खसेपछि पुनः अवरुद्ध बनेको छ ।


