![]()
काठमाडौं । मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्री श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै श्रीनिवासाचार्यले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन्। उनले भने,‘पत्रकार समाजको आँखा हो, त्यो आँखामा छारो परेको खण्डमा राम्ररी देख्न सकिँदैन्, सत्य सूचना समाजका बीचमा जानबाट बञ्चित हुन्छ, मेरो बारेमा जान्नको लागि पत्रकारले जुन भूमिका खेल्नुपर्ने थियो हुन सकेन, मैले सरकारबाट न्याय पाउन सकिँन, उल्टै मेरा शुभचिन्तक र अंगरक्षकलाई चरम यातना दिएर बलजफ्ती औंठा छाप लगाउने काम गरियो, झुटको खेती गरेर अपराधीलाई उन्मुक्ति दिने काम गरियो, यसको भित्री कारण खोज्नको लागि कोही तयार भएन, मलाई यस कुराले दुःखित् बनायो।’
उनले भने,‘ मलाई कुनै कुरा बोल्न नदिएर एकतर्फी पत्रकार सम्मेलन गरेर आफूले आफूमाथि गोली प्रहार गर्न लगाएको हो भन्ने समाचार विश्वले थाहा पाउने गरी प्रकाशित भए, सत्य जानेर समाचार लेखिएन, मनगढन्ते र अरुका कुराहरु सुनेर समाचारहरु प्रकाशित भए।’
त्यस्तै कार्यक्रममा स्वामी पद्यमधर आचार्यले पत्रकार देशको आँखा भएकाले समाचार सम्प्रेषणमा ध्यान दिनको लागि आग्रह गरेका छन्। एकीकृत राप्रपा ‘राष्ट्रवादी’का सह–महामन्त्री एवम् प्रदेश नम्बर १ का संयोजक दीपेन्द्र भण्डारीले यूवा सन्त श्रीनिवासाचार्यको चरित्र हत्या गर्ने उद्देश्यले फसाउन खोजिएको आरोप लगाए ।


