Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या गराएको समूहमा संलग्न रहेको आरोप लागेका र सर्वाधिक खोजी गरिएका एक जना लडाकु एउटा भिडिओमार्फत् सार्वजनिक भएका छन्। पाकिस्तानी तालिबान विद्रोहीहरूको एउटा समूहले बनाएको सो भिडिओमा इक्रामुल्लाहले भुट्टोको हत्यामा आफू प्रत्यक्ष वा परोक्ष कुनै किसिमले पनि संलग्न नभएको दाबी गरेका छन्।

भुट्टोको हत्या गर्न नियोजित आक्रमण यदि सफल नभएको भए इक्रामुल्लाहले आत्मघाती आक्रमण गर्ने वैकल्पिक योजना सहित उनी परिचालित भएको बताइन्छ। तर अर्का आत्मघाती आक्रमणकारीले विस्फोट गराएपछि उनी त्यहाँबाट भागेको अधिकारीहरूको दाबी छ।

सन् २००७ मा रावलपिन्डीमा आयोजित एउटा चुनावी र्‍यालीमा गराइएको सो विस्फोटमा तत्कालीन प्रधानमन्त्री भुट्टो र अरू २० जना मारिएका थिए। भुट्टोका एक जना वरिष्ठ सहयोगीले इक्रामुल्लाहले ढाँटेको बताएका छन्।

भुट्टो

भुट्टो हत्याकाण्डबारे आफ्नो पहिलो सार्वजनिक भनाइ राख्न इक्रामुल्लाह पाकिस्तानी तालिबानबाट चोइटिएको एउटा समूहले बनाएको सो भिडिओमा देखा परेका हुन्। उक्त भिडियो लडाकुहरूको आधार रहेको पूर्वी अफगानिस्तानमा खिचिएको जस्तो देखिन्छ ।

आफ्नो समूहका वरिष्ठ नेताका रूपमा वर्णित इक्रामुल्लाहले भुट्टोको हत्या योजनामा आफू संलग्न पनि नरहेको र त्यसबारे आफूलाई थाहा पनि नभएको कुरा भिडिओमा पटकपटक भनेका छन्।

इक्रामुल्लाह पाकिस्तानमा सर्वाधिक खोजी भएका सन्दिग्ध आतङ्कवादीहरूको सूचीमा छन्। भुट्टोको हत्याको मुद्दामा उनको नाम दोस्रो आत्मघाती आक्रमणकारीका रूपमा अदालतमा प्रस्तुत गरिएको छ। अरू सन्दिग्धहरूले पनि इक्रामुल्लाहको नाम भुट्टो हत्या प्रकरणमा दोस्रो आत्मघाती आक्रमणकारीका रूपमा लिएको मल्लिकले बताए।

भुट्टोको हत्या हुँदा इक्रामुल्लाह १६ वर्षका भएको बताइन्छ।

भुट्टो सन् १९८८ र १९९३ मा दुईचोटि प्रधानमन्त्री निर्वाचित भएकी थिइन्। केही वर्ष निर्वासित भएर सन् २००७ मा स्वदेश फर्किइएर उनी निर्वाचन अभियानमा संलग्न भएकी थिइन्। सोही वर्ष अक्टोबरमा उनको हत्या गर्ने उद्देश्यले आत्मघाती आक्रमणकारीहरूले उनलाई स्वागत गर्न कराची विमानस्थलमा भेला भएका समर्थकहरूलाई तारो बताए। सो घटनामा उनी जोगिए पनि १५० भन्दा बढी व्यक्ति मारिए।

भुट्टो
यही निर्वाचन र्‍यालीमा सहभागी हुँदा भुट्टो मारिइन्।

त्यसको दुई महिनापछि रावलपिन्डीमा भएको आक्रमणमा भने उनको मृत्यु भयो। उनको हत्याको योजनामा संलग्न भएको अभियोग लागेका पाँच लडाकुहरूले गत वर्ष सफाइ पाए। तर सो मुद्दामा पुनरावेदन गरिएकाले उनीहरू अझै पनि थुनामुक्त भएका छैनन्।

यो वर्षको आरम्भमा पाकिस्तानी तालिबानद्वारा प्रकाशित एउटा पुस्तकमा भुट्टोको हत्या आफूले गराएको र त्यसमा इक्रामुल्लाहलाई दोस्रो आत्मघाती बमआक्रमणकारीका रूपमा परिचालित गरिएको उल्लेख छ।

यसअघि तालिबानले भुट्टोको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.