![]()
एजेन्सी । इरानले सोमबार पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई जारी विश्वकपमा गोल गर्नबाट रोक्न सके उनीहरूका लागि त्यो ऐतिहासिक नतिजा बन्नेछ।
राेनाल्डो जारी प्रतियोगितामा पोर्चुगलका लागि गोल गर्ने एक मात्र खेलाडी हुन् । पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गर्दा समेत निर्णयक गोल गरेका थिए । जारी विश्वकपमा रोनाल्डोसँगै बेल्जियमका रोमेलु लुकाकुले ४ गोल गरेका छन् । ५ गोल गर्दै इङ्ल्यान्डका कप्तान ह्यारी केन अहिलेसम्म सर्वाधिक गोलकर्ता बनेका छन्।
इरानको रक्षापंक्ति जारी विश्वकपकै सबैभन्दा बलियो मानिएको छ । विश्वपक छनोटका १० खेलमध्ये ९ मा गोलको सामना नगरेको इरानले जारी विश्वकपमा मात्र १ गोल खाएको छ । समूहको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्न सके इरानी टोलीका साथै प्रशिक्षक कार्लोस क्विरोजका लागि पनि त्यो अर्थपूर्ण नतिजा हु्नेछ ।
२०१४ को ब्राजिल विश्वकपमा पनि इरानको प्रशिक्षण सम्हालेका क्विरोजले सोमबार पोर्चुगलविरुद्ध हुने खेललाई ‘सातवर्षे इरानी प्रशिक्षण अवधिकै सबैभन्दा रोचक र महत्वपूर्ण’ खेलको संज्ञा दिए ।
पहिलो खेलको इन्जुरी समयमा आत्मघाती गोलबाट भाग्यमानी साबित हुँदा मोरक्कोलाई १–० ले पराजित गरेको इरानले दोस्रो खेलमा स्पेनलाई १–० ले नतिजा सुम्पिएको थियो । स्पनेविरुद्ध बराबरी गोल फर्काए पनि उक्त गोल भिडियो सहायक रेफ्री (भिएआर) ले अस्वीकृत गरेको थियो । समूह ‘बी’ मा समाान ४ अंक जोडेका स्पेन र पोर्चुगल पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको इरान तेस्रो र अंकविहीन मोरक्को अन्तिम स्थानमा छन्।
इरानलाई पहिलो पटक विश्वकपको अन्तिम १६ को टिकट काट्न पोर्चुगलविरुद्ध जित आवश्यक छ । पोर्चुगलसँग बराबरी खेलेमा इरानको अघिल्लो चरण प्रवेश सम्भावना स्पेन र मोरक्कोबीच हुने समूहको अर्को खेलमा निर्भर हुनेछ । जहाँ मोरक्कोले स्पेनलाई २–० ले पराजित गर्नुपर्नेछ ।


