![]()
चितवन । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि आवश्यक सबै कानुन आगामी असोज २ गतेभित्र प्रतिनिधिसभाबाट पारित गरिसक्ने बताउनु भएको छ ।
चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन सर्दै सभामुख महराले धेरै कानुन बन्न बाँकी रहेकाले स्थानीय तहसम्मलाई हुने गरी नयाँ कानुनहरु ल्याइने जानकारी दिनुभयो । कानुन नहुँदा स्थानीय तथा प्रदेश तहमा समस्या आएको उहाँले बताउनुभयो ।
सभामुख महराले नयाँ कानुनहरू लागुपछि संघीयताको प्रष्ट कार्यान्वयन भएको देखिने उल्लेख गर्दै केन्द्रमा रहेका स्रोत र साधानहरूलाई तल जनतासम्म पुग्ने गरी संघीयता कार्यान्वयन सम्वन्धी कानुन आउने प्रष्ट पार्नुभयो ।
संघीयता पक्षधरहरू यसको सफल कार्यान्वनका लागि एकजुट हुनुपर्ने उहाँको भनाइ थियो । केन्द्र सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली नीतिलाई स्थानीय तहसम्म कार्यान्वयनको पक्षमा लैजान सभामुख महराले सुझाव दिनुभयो ।


