![]()
बीबीसी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको घोषणा गरेको छ। यसै हप्ताको शुरूमा अमेरिकाले दक्षिण कोरियाली सेनासँग अगष्ट महिनाका लागि तय भएको संयुक्त सैन्य अभ्यास स्थगित गरेको घोषणा गरेपछि पछिल्लो निर्णय सार्वजनिक भएको हो।
पेन्टागनकी एकजना प्रवक्ताले सिंगापुर शिखर बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीच भएको सहमति कार्यान्वयनमा सघाउनेतर्फ पछिल्लो निर्णय केन्द्रित रहेको बताइएकी छन्। यसअघि शुक्रवार राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्धका प्रतिबन्धहरूलाई बढाउन सकिने संकेत गरेका थिए।
उनले उत्तर कोरियाबाट ‘असाधारण खतरा’ भएको बताएका थिए। यसै महिनाको शुरूतिर ट्रम्प र किमबीच ऐतिहासिक शिखर वार्ता भएको थियो। उक्त वार्तामा अमेरिकाले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने सहमति जनाएको थियो। सो सहमतिप्रति दक्षिण कोरियाले आश्चर्य व्यक्त गरेको थियो।
यसअघि अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउने गरेका थिए। उत्तर कोरियाले अमेरिका र आफ्नो छिमेकी दक्षिण कोरियाबीच हुने गरेको संयुक्त सैन्य अभ्यासलाई अतिक्रमणको तयारीको रूपमा वर्णन गर्दै आएको छ।
प्योङयाङले अतिक्रमणको तयारीको रूपमा हेर्ने गरेको पृष्ठभूमिमा अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा एउटा मुख्य विवादको विषय रहिआएको छ।


