![]()
बीबीसी । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटवार्ताको एक सातापछि किम २ दिने भ्रमणका लागि बेइजिङ पुगेका हुन ।
३ महिनाको अवधीमा किमको यो तेश्रो चीन भ्रमण हो । चीन भ्रमणका क्रममा नेता किमले राष्ट्रपति सि जिनपिङसँग समेत भेटवार्ता गर्ने दक्षिण कोरियाली समाचारसंस्था योन्हापले जनाएको छ । नेता किमले चिनियाँ उच्च अधिकारीहरुसँग आणविक निशस्त्रीकरणको प्रतिबद्धता जनाइसकेको अवस्थामा आफ्नो मुलुकमाथि लागेका प्रतिबन्धको बिषयमा छलफल गर्ने अनुमान गरिएको छ ।
उत्तर कोरियाको व्यापारिक मित्र राष्ट्र चीनले उत्तर कोरियामाथिको नाकावन्दी केही खुकुलो हुनसक्ने बताएको थियो । संयुक्त राष्ट्रसंघ लगायतका विश्वका अन्य शक्ति राष्ट्रले उत्तरमाथि लगाएको प्रतिबन्धको चीनले पहिलेदेखि नै विरोध गर्दै आएको थियो । यद्यपी केही प्रतिबन्धमा भने चीनले पनि समर्थन जनाएको थियो ।
यसैबीच, अमेरिका र दक्षिण कोरियाले अर्को संयुक्त सैन्य अभ्यासको तयारी स्थगित गरेका छन् । नेता किमसँग सिंगापुरमा भएको सम्मेलनमा राष्ट्रपति ट्रम्पले जनाएको प्रतिबद्धता अनुसार सैन्य अभ्यासको तयारी स्थगित भएको दुवै राष्ट्रले बताएका छन् ।


