![]()
एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर म्याराडोनाले अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सीको बचाउ गरेका छन् । आइसल्याण्डबिरुद्धको खेलमा मेस्सीले पेनाल्टी मिस गरेपछि चौतर्फी आलोचना भैरहेकाबेला म्यारोडोना भने बचाउमा उत्रिएका हुन । उनले पेनाल्टीमा गोल नगर्नु सामान्य भएको प्रतिक्रिया दिए ।
‘मैले स्पेनमा पाँचपटक पेनाल्टी मिस गरेको छु र पनि अहिलेसम्म म डिएगो अर्मान्डो म्याराडोना नै छु’ उनले भनेका छन, ‘मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेकै कारण अर्जे्न्टिनाले दुई अंक गुमायो भन्ने मलाई लाग्दैन ।’
म्याराडोनाले अर्जे्न्टिनाको कमजोर प्रदर्शनमा प्रशिक्षक जर्ज साम्पाओलीलाई दोषी देखाएका छन् । उनले आगामी खेलमा आइसल्याण्डसँग जस्तो गल्ती नगर्न पनि सुझाव दिएका छन ।
पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले अर्जे्न्टिनाले बराबरी खेल्दा म्याराडोनाले स्पार्टक रंगशालमै थिए । आइसल्याण्डसँगको बराबरी अर्जे्न्टिनी टिमका लागि लाज र अपमानको कुरा भने नभएको उनको भनाइ छ । तर, आइसल्याण्डका सबै खेलाडी १.९० मिटर अग्ला छन् भन्ने थाहा हुँदाहुँदै पनि त्यस अनुसार तयारी नगर्नु प्रशिक्षकको कमजारी भएको उनले बताए ।
म्याराडोनाले भने, ‘म खेलाडीलाई दोष लगाउँदिन । हो स्तरमा केही कमजोरी भयो । तर खेलाडीलाई दोष दिने ठाउँ छैन । मेस्सीको कुरा गर्दा उनले आफूसँग भएको सबै कुरा त्यो खेलमा दिएका थिए ।’
अर्जे्न्टिनाले आफ्नो दोस्रो खेलमा आउँदो जुन २१ म क्रोएसियासँग खेल्नेछ ।


