![]()
बीबीसी ।कोलम्बियामा फार्क विद्रोहीहरूसँग भएका शान्ति सम्झौताका प्रतिबद्धता पूर्ण परिमार्जन गर्ने वाचा गरेका अनुदारवादी नेता इभान डुके नयाँ राष्ट्रपति चुनिएका छन्। निर्वाचन अधिकारीहरूले उनले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेको जनाएका छन्।
उनका प्रतिद्वन्द्वी पूर्व वामपन्थी छापामार गुस्ताभो पेट्रोले शान्ति सम्झौताको समर्थन गरेका थिए र उनले ४१ प्रतिशतभन्दा थौरै बढी मत ल्याएको बताइएको छ। यो चुनावी परिणामले फार्क विद्रोही र कोलम्बिया सरकारबीच भएको एउटा ऐतिहासिक र विवादास्पद शान्ति सम्झौताको भविष्यबारे प्रश्नहरू खडा गरिदिएको छ।
पाँच दशकलामो द्वन्द्का क्रममा फार्क विद्रोहीहरूले गरेका युद्धअपराध विरुद्ध कडा दण्डका प्रावधानहरू लागु गर्ने इच्छा उनले व्यक्त गरेका छन्। लगभग सबै मतगणना सम्पन्न हुँदा डुकेले ५४ प्रतिशत र उनका प्रतिद्वन्दी गुस्ताभो पेट्रोले ४१.८ प्रतिशत मत ल्याएका छन्।

डुकेलाई पूर्व राष्ट्रपति अलभारो उरिभेको समर्थन रहेको छ। उनले सन् २०१६ मा विद्रोहीहरूलाई मूलधारमा ल्याउन भएको शान्ति सम्झौता परिमार्जन गर्ने प्रतिबद्धता जनाएका थिए। कर कटौती गर्ने, लगानी वृद्धि गर्ने जस्ता नीति लिएका कारण डुके व्यापारिक समुदायमा पनि लोकप्रिय थिए।
मतदाताहरूलाई अनुदारवादी डुके या पूर्व वामपन्थी छापामार पेट्रोमध्ये एकलाई रोज्ने अवसर थियो। पेट्रोले समाजमा समानता अझ वृद्धि गर्ने र मानिसहरूलाई स्वास्थ्य र शिक्षामा पहुँच पुर्याउने प्रतिबद्धता जनाएका थिए। उनले राजनीतिक रुपमा संरक्षित संभ्रान्तहरुलाई कानुन माताहत ल्याउने र गरिबलाई जग्गा वितरण गर्ने प्रतिबद्धता जनाएका थिए।

बोगोटा शहरका पूर्व मेयर रहेका उनले शान्ति सम्झौतालाई समर्थन गर्दै आएका थिए। ट्विटरमा पेट्रोले आफनो पराजय स्वीकार गरेका छन्। विद्रोहीसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका निवर्तमान राष्ट्रपति खुवाँ म्यानुएल सान्टोसले कोलम्बियाली नागरिकलाई मत हाल्न आग्रह गर्दै देशमा शान्ति कायम गर्न निरन्तर लागिपर्नुपर्ने बताएका थिए।


