![]()
काठमाडौ,असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच पार्टी एकीकरणको प्रक्रिया सुरु भएको छ । राप्रपाको पार्टी एकीकरणका लागि वार्ता गर्न गठित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको समिति र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच बिहीबार भएको भेटवार्तामा दुई पार्टीबीच एकता प्रक्रिया सुरु गर्ने सहमति बनेको छ । अध्यक्ष राणाको महाराजगन्जस्थित निजी निवासमा भएको वार्तामा पार्टी टुक्रिएकै बिन्दुबाट पुनः एकीकरणका लागि प्रक्रिया सुरु गर्न दुवै पक्ष सहमत भएको राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङले जानकारी दिए ।
उनले भनेः‘हामी पार्टी एकीकरण गर्ने प्रस्ताव लिएर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति राणाको निवासमा पुगेका थियौँ, हामीले राखेको प्रस्ताव उहाँले सहर्ष स्विकार्दै पार्टी टुक्रिएकै बिन्दुबाट एकीकरणको प्रक्रिया सुरु गर्न आफू र आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।’
एकीकरण कसरी गर्ने, पद बाँडफाँड, एकीकृत पार्टीको विधान कस्तो बनाउने भन्ने विषयमा दुई पार्टीको वार्ता समितिले छलफल गरी निष्कर्ष निकाल्ने तयारी छ । राप्रपा प्रजातान्त्रिकले पनि पार्टी एकीकरणका लागि वार्ता गर्न पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा संयोजक र उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनील थापा सदस्य रहेको समिति बनाएको छ । राप्रपाले तामाङको नेतृत्वमा उपाध्यक्ष टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन रहेको समिति बनाएको छ ।
तामाङले राणासँग भएको सहमतिअनुरूप दुई पार्टीका वार्ता समिति बसेर पार्टी एकीकरण गर्ने भन्ने विषयमा मार्गचित्र तय गर्ने बताए । तामाङले भनेः‘हामी दुई पार्टी नै एकीकरणका लागि तयार छौँ, अब कसरी एकीकरण गर्ने भन्ने विषयमा दुई पार्टीका वार्ता समिति बसेर मार्गचित्र बनाउँछौँ ।’
दुई वार्ता समितिबीच कहिले वार्ता हुने भन्ने तय भइनसकेको र छिटै वार्ता गरेर एकीकरण प्रक्रिया अघि बढाउने तामाङले बताए ।


