![]()
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते गते उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत साझेदारीका क्षेत्रमा समझदारी हुने भएको छ।
चिनियाँ विदेशमन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनका क्रममा भ्रमणको जानकारी गराएको हो। मन्त्रालयका प्रवक्ता जेङ सुयाङले नेपालका प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको जानकारी गराएका हुन्।
‘चीन र नेपाल अनन्त मित्रताका साथै बृहत् साझेदारीका साझेदार हुन्। चीन र नेपालको सम्बन्धले सधैँ विकासको सुखद गतिको अनुभव गरिरहेको छ,’ प्रवक्ताले भने, ‘दुवै पक्ष एकअर्कालाई एकअर्काका सरोकारमा सहयोग गर्दै आएका छन्। हाम्रा आपसी साझेदारीका क्षेत्रहरू तीव्र रूपमा विकास भइरहेका छन्।’
चिनियाँ विदेशमन्त्रालयका प्रवत्ताले प्रवक्ता ओलीको भ्रमणक्रममा दुई देशबीच बीआरआईको फ्रेमवर्कभित्र रहेर साझेदारीका क्षेत्रमा सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरे।
नेपालमा राजनीतिक परिवर्तन पछि प्रधानमन्त्री ओलीको पहिलो चीन भ्रमण भएको भन्दै प्रवक्ता सुयाङले दुवै देशको नेतृत्वलाई चीन नेपाल सम्बन्धलाई नयाँ सिराबाट कोर्न तथा मार्गदर्शन गर्न सहयोग पुग्ने बताए। भ्रमणका क्रममा उनले राष्ट्रपति सी जिङपिङसँग प्रधानमन्त्री ओलीले भेट गर्ने तथा प्रधानमन्त्री लि खछ्याङसँग द्विपक्षीय वार्ता गर्ने जानकारी समेत दिए।


