Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सरकार फोरम र राजपाले माग अनुसार नै संविधान संशोधन गर्ने तयारीमा

Loading

काठमाडौ,जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम मधेशका मुद्धाप्रति निकै अनुदार रहेका वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार संविधान संशोधनको तयारीमा जुटेको हो ।
राजपा नेपाल र फोरम नेपालले प्रस्तुत गरेको ११ बुँदे संविधान संशोधन मागमध्ये दुईवटा मागमा मात्र संविधान संशोधन गर्न सरकार तयार भएको सत्तारुढ दलका नेताको दावी छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोसँग नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले संविधान संशोधनको प्रकृया अगाडि बढाउने विषयमा पटक–पटक छलफल गरेका छन् । नागरिकता र भाषाको विषयमा संविधान संशोधन गर्न सरकार तयार भएको राजपा नेपालका एक नेताले जानकारी गराए ।
भाषा आयोगको सिफारिसमा सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गर्ने र त्यसलाई संविधानको अनुसूचीमा थप गरेर भाषालाई सम्बोधन गर्ने भनी संविधानमा संशोधन गर्नुपर्ने राजपा र फोरम नेपालको माग छ । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारवाही चलाएपछि नेपालको वैवाहिक अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था गरी नागरिकता विवाद सम्बोधन गर्ने गरी सहमति भएको स्रोतले जनाएको छ ।
काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ भदौ ५ गते संसदमा संशोधन विधेयक प्रस्तुत गरेको थियो । तर बहुमतले सो विधेयक अस्वीकृत भएको थियो । बैठकमा निर्णयार्थ पेश भएको संविधानको दोस्रो संशोधनको विधेयकको पक्षमा दुई तिहाइ मत पुग्न सकेन । ५५३ मतमध्ये प्रस्तावको पक्षमा ३४७ मत परेको थियो भने विपक्षमा २०६ मत परेको थियो । तर पक्षमा परेको मत संसदमा तत्काल कायम ५९२ सदस्य सङ्ख्याको दुई तिहाइ नपुगेकाले सो विधेयक अस्वीकृत भएको थियो । काङ्ग्रेस, माओवादी केन्द्र तथा फोरम र राजपाले सो विधेयकको पक्षमा मत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.