![]()
एजेन्सी । एउटा कार्यक्रममा विदेशमा काम गर्ने फिलिपिनी कामदारलाई स्टेजमै चुम्बन गरेपछि फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेको सर्वत्र निन्दा भएको छ ।दक्षिण कोरियामा भएको एउटा कार्यक्रममा विशाल भीडलाई सम्बोधन गरिरहेकै बेला राष्ट्रपति डुटेर्टेले एउटी महिलालाई स्टेजमा बोलाएर उनलाई चुम्बन गर्नका लागि मनाएका थिए ।
दक्षिण कोरियामा मै काम गरिरहेकी ती महिलालाई राष्ट्रपति डुटेर्टेले चुम्बन गरेपछि कार्यक्रममा उपस्थित अन्य कामदारले होहल्ला गरेको बिबिसीले उल्लेख गरेको छ । राष्ट्रपतिको कदम अत्यन्तै काम नलाग्ने भएको फिलिपिनी अधिकारवादी संस्था ग्याबरेर्लाले जनाएको छ । राष्ट्रपति डुटेर्टेले चुम्बन गरेकी ती महिलाले भने राष्ट्रपतिले चुम्बन गर्नुमा कुनै गलत नियत नभएको जिकिर गरेकी छन् ।
सम्बोधनकै क्रममा दुई फिलिपिनी महिलालाई राष्ट्रपतिको हातबाट सित्तैमा पुस्तक लिनका लागि स्टेजमा आमन्त्रण गरिएको थियो । स्टेजमा आएका दुईमध्ये पहिलो महिलालाई डुटेर्टेले अंकमाल गरे अनि उनको गालामा चुम्बन गरे । उनले स्टेजमा आएकी अर्की महिलालाई भने ओठमा चुम्बन गर्नका लागि इसारा गरे ।
फिलिपिन्समा महिला अधिकारका लागि काम गरिरहेको अधिकारवादी संस्था ग्याबरेर्लाले उक्त घटनाको निन्दा गरेको छ । उसले राष्ट्रपतिको कदम वास्तविक नीतिगत मुद्दालाई बदल्ने ठूलो प्रयास भएको र राष्ट्रपतिले प्रख्याती कमाउनका लागि महिलालाई चुम्बन गरेको आरोप लगाएको छ । उनको कदमलाई लिएर फिलिपिन्सभर र अन्य देशमा पनि सामाजिक सञ्जालभर विरोध भइरहेको छ ।

