![]()
एजेन्सी ।सोसल कमर्श साइट सगुनमा भारतीय ठूला मिडिया हाउससँगै सेलिब्रेटीहरु पनि लगानी गर्न जुटेका छन् । भारतको प्रतिष्ठित अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्स प्रकाशन गर्ने कम्पनीले सगुनमा लगानी घोषणा गरेको केहि समयपछि भारतकी चर्चिक मिडिया सेलिब्रेटी मन्दिरा वेदीले पनि लगानी गरेकी हुन् ।
वेदीले आफूले सगुनमा लगानी गर्न पाएकोमा खुसी व्यक्त गरेकी छिन् । मन्दिरा वेदीले आफूले अहिलेका चर्चित कम्पनीहरु स्टार्ट अप चरणमा रहँदा लगानी गर्न नपाएपनि प्रचुर सम्भावना रहेको सगुनमा लगानी गर्न पाउँदा खुसी प्रकट गरेकी छिन् ।
भारतमा समेत कार्यालय राखेर सञ्चालनमा रहेको सगुनमा लगानी गरेकी वेदी चर्चित भारतीय सेलिब्रेटी हुन् । यसअघी हिन्दुस्तान टाइम्सले सगुनमा पचास लाख डलर लगानी गरेको थियो ।
स्टार्ट अप कम्पनीहरुमा लगानी गर्दा त्यसबाट भविष्यमा पाइने उच्च प्रतिफललाई हेरेर अहिले भारतमा त्यस्ता कम्पनीहरुमा लगानी गर्ने ट्रेण्ड शुरु भएको छ । सगुनमा लगानी गर्न अन्य केहि प्रतिष्ठीत भारतीय कम्पनीहरु पनि छलफलमा रहेका छन् । सगुनले अमेरिकी सेक्युरिटी एक्सचेन्ज कमिसनको कानुनको अधिनमा रहि मिनी आइपिओ मार्फत लगानी जुटाइरहेको छ ।
सगुनमा हालसम्म २३ लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन्। प्रयोगकर्ता मध्ये भारतमा मात्र १० लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् । भारतीय नायिका श्रद्धा कपुरले सगुनको एन्ड्रोइड मोवाइल भर्सन दिल्लीमा सार्वजनिक गरेसँगै भारतीयहरुमा सगुनका बारेमा चासो बढेको हो । सगुनमा अहिलेसम्म ३ हजार भन्दा बढी लगानीकर्ताको करिव ५० लाख डलर लगानी भएको छ ।


