Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

बीबीसी । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ।

आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ हराइरहेका छन्। अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन्। तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लिइरहेका छन्। ज्वालामुखी पर्वतको भीरमा रहेका गाउँहरू खरानी र हिलोले पुरिएका छन्।

ज्वालामुखीसम्बन्धी विज्ञहरूले शुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी निकट भविष्यका लागि समाप्त भएको मंगलवार बताएका थिए। ग्वाटेमालाको राष्ट्रिय भूगर्भ केन्द्रका प्रमुख एड्डी सान्चेसले आगामी केही दिनसम्म ज्वालामुखी विस्फोट नहुने बताएका थिए।

मंगलवार नयाँ विस्फोट भइरहँदा आपत्‌कालीन सेवाका अधिकारीहरूले शवको खोजी गरिरहेका थिए। ग्वाटेमालाको विपद्‌ नियन्त्रण निकायका प्रमुखले आइतवार ज्वालामुखी विस्फोट हुनुअघि कुनै चेतावनी जारी नगरिएको बताएका छन्।

स्थानीयबासिन्दाहरूले आपत्‌कालमा बच्ने उपायबारे प्रशिक्षण लिए पनि एकदम छिटो ज्वालामुखी विस्फोट भएकोले उनीहरूले सिकेका कुरा लागु गर्न नसकेको उनको भनाइ छ। ज्वालामुखीसम्बन्धी एकजना विज्ञले ज्वालामुखीबाट निस्किरहेको खरानी र हिलो खतरनाक भएको भन्दै त्यसलाई नजरअन्दाज गर्न नहुने  बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed