![]()
एजेन्सी,जेठ ।
यही १२ जुनमा तय भएको डोनाल्ड ट्रम्प र किम जोन उन ऐतिहासिक बैठकमा विश्वका सबैभन्दा बहादुर सेनाका रुपमा चिनिने नेपालका गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किम दुवै आ–आफ्ना देशका सुरक्षाकर्मीका साथ आउने भए पनि सिंगापुरका तर्फबाट भने गोर्खाली सेना तैनाथ गरिने समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
गोर्खाली सेनाकै कारण सिंगापुरमा सबैभन्दा विश्वसनीय सुरक्षा व्यवस्था हुने हुनाले यसअघि अमेरिका र उत्तर कोरिया दुवैले ऐतिहासिक वार्ताका लागि यो देशको छनोट गरेका थिए । बैठकस्थल वरिपरिका सडक, बैठक बस्ने होटललगायतका महत्वपूर्ण स्थानहरुमा गोर्खाली सेनाले सुरक्षा प्रदान गर्ने तय भएको हो । यसैको तयारीका निम्ति सिंगापुर पुलिसले अहिले उनीहरुलाई विशेष सैन्य पहिरन, बेल्जियममा बनेको एसल्ट राइफल, खुट्टामा पहिरने विशेष प्रकारको पेस्तोल होस्टलरलगायतका हतियार प्रदान गरिरहेको बताइएको छ ।
तरपनि गोर्खाली सेनाको सबैभन्दा प्रमुख हतियार र राष्ट्रिय पहिचान खुकुरी भएकाले त्यो पनि साथमा हुने बताइएको छ । सार्वजनिक स्थानमा निकै कम देखा पर्ने भए पनि गत हप्ता सांग्रिला होटलमा आयोजित सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी रक्षामन्त्री जीम म्याटिसको विशेष सुरक्षामा गोर्खाली सेनाको भारी उपस्थिति रहेको बताइएको थियो । आइआइएसएस मिलिटरी ब्यालेन्सका अनुसार सिंगापुरमा मात्र ६ ठूला कम्पनीहरुका लागि १८ सय गोर्खाली सेना खटाइएको छ ।


