![]()
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चिनियाँ नाकाबाट हुने गरेको सुन तस्करीबारे चिनियाँ राजदूतसँग छलफल गरेका छन ।
नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले नेपालमा भइरहेको सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रणबारे छलफल गरेका हुन ।
भेटमा राजदूत होङले आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने बताएकी थिइन । गृहमन्त्रीले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए ।
भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा पनि छलफल भएको थियो। गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि राजदूतसँग आग्रह गरेका थिए।
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै मन्त्री थापाले नेपाली भूमिबाट कुनै किसिमका चीनविरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका थिए।
राजदूत होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेकी थिइन ।


