![]()
एजेन्सी । पूर्व विजेता मारिया सारापोभा फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । डच टेनिस खेलाडी रिचेल होजिनकाम्पलाई हराउँदै सारापोभा दोस्रो चरणमा पुगेकी हुन् ।
पेरिसस्थित रोलान्ड गार्रोसमा भएको खेलमा सारापोभाले रिचेललाई ६–१, ४–६ र ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेकी हुन् । तीन वर्षपछि पहिलो पटक सारापोभा दोस्रो चरणमा पुगेकी हुन् । सन् २०१६ मा सारापोभा प्रतिबन्धमा परेकी थिइन् ।
यस्तै, अमेरीकी खेलाडी सेरेना विलियम्सले उत्कृष्ट पुनरागमन गर्दै फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा पुगेकी छिन् । सेरेनाले क्रिस्टेना प्लिेस्कोभालाई सहज रुपमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।
उनले प्लिेस्कोभालाई ७–६(७–४) र ६–४ को सेटमा पराजित गरिन् । परिसस्थित रोलान्ड ग्यारोसमा भएको खेलमा उनी ९ महिनापछि मैदानमा फर्किएकी हुन् । ३६ वर्षीय सेरेनाले आफ्नो पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । उनले गर्भवती भएकै अवस्थामा सन् २०१७ को अष्ट्रेलियन ओपन टेनिस टुर्नामेन्ट जितेकी थिइन् ।


