![]()
काठमाडौं । सरकारले ल्याएको नीति कार्यक्रममा मौन समर्थन गरेको नेपाली कांग्रेसले बजेटमा भने असन्तुष्टि जनाएको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विज्ञसहित बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको बजेट राष्ट्रहितमा नभएको निष्कर्ष निकाल्दै संसदमा कडा बिरोध गर्ने निष्कर्ष निकालेको छ ।
संसदीय दलका सदस्य र विज्ञहरुको बजेटबारेको धारणापछि संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले सदस्यहरुलाई संसदमा सरकारको बजेटका विषयमा विरोध जनाउन रुलिङ गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि संघीयतालाई पाखा लगाएर एकात्मक राज्यसत्ता प्रणालीअनुरुप केन्द्रीकृत ढंगले बजेट ल्याएको कांग्रेसको ठहर छ । बजेटमा उल्लेख गरिएका योजनाहरु पार्टी सदस्यहरुले कार्यान्वयन गर्ने ढंगले प्रस्तुत गरिएकाले बजेटबाट जनता लाभान्वित हुन नसक्ने पनि कांग्रेसले दाबी गरेको छ ।
बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता नदिइएको र रोजगारी सिर्जना गर्ने नीजि क्षेत्रलाई सम्बोधन नगरेको प्रति पनि कांग्रेसको आपत्ति छ ।


