![]()
एजेन्सी,जेठ ।
रसियाली पत्रकार अर्कादि बाबचेन्कोको गोली हानी हत्या गरिएको छ। युक्रेनको राजधानी किभस्थित आफ्नो घरनजिकैको गल्लीमा बाबचेन्कोलाई उनकी श्रीमतीले गोली लागेर रगताम्य भएर ढलेको अवस्थामा भेटेकी थिइन्। गम्भीर अवस्थामा भेटिएका ४१ वर्षीय बाबचेन्कोको अस्पतालतर्फ लाँदै गर्दा एम्बुलेन्समा नै ज्यान गएको युक्रेनी प्रहरीले बताएको छ।
सन् २०१६ मा रसियाली सेनाको विमान दुर्घटनाको समाचार लेखेको भन्दै मार्ने धम्की आएपछि उनले रसिया छोडेका थिए। सोपश्चात् उनी पराग्वे हुँदै युक्रेनको राजधानी किभमा बस्दै आएका थिए। क्रेमलिनलाई रसियामा विलय गराउने विषयमा उनी स्पष्ट आलोचकका रुपमा उभिएका थिए। सो समयमा उनलाई रसियाली सरकारको विपक्षमा लेख्ने पत्रकारको रुपमा हेरिन्थ्यो।
युद्धको समाचार सम्प्रेषण गर्ने पत्रकार बाबचेन्को पछिल्लो समय युक्रेनको टिभी च्यानल एटिआरका लागि काम गर्थे। युक्रेनी प्रहरीका प्रवक्ता यारोस्लाभ त्राकालोले पत्रकार बाबचेन्को हत्या भएको पुष्टि गरेका छन्।। उनलाई पछाडीबाट केही राउण्ड गोली प्रहार गरि हत्या गरिएको प्रहरी प्रवक्ता त्राकालोले बताए। हत्याको थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ।


