Breaking News.... EverestOnlineKhabar
June 27, 2026

कृषि, पर्यटन र औद्योगिक विकास प्रदेश १ को समृद्धिको आधार : मुख्यमन्त्री राई

Loading

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले एक नम्बर प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार कृषि, पर्यटन र औद्योगिक विकास रहेको बताउनु भएको छ ।

प्रदेश नम्बर एक चेम्बर अफ कमर्स र मोरंग जिल्ला चेम्बर अफ कमर्सको संयुक्त शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले अरु देशले १०० बर्षमा गरेको विकास नेपालले १०÷१५ बर्षमा गर्नैपर्ने अन्यथा नेपाल बिश्वको विकासबाट फाइदा लिन अवसरबाट वञ्चित हुने धारणा राख्नुभयो ।

“अबको नेपालको विकासमा नीजि क्षेत्रको भूमिका थप शशक्त बन्दै गएकोले सरकार र नीजि क्षेत्रको सहकार्य नै समृद्धिको आधार हो, त्यसको लागि प्रदेश सरकारले तीनवटै क्षेत्रमा नीजि क्षेत्रसंगको सहकार्यलाई अगाडी बढाउने छ । ” मुख्यमन्त्री राईले भन्नुभयो ।
प्रदेशको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण बनाउने भन्दै कतिपय बस्तुहरुमा कर छुट गर्नु पर्ने भएमा प्रदेश सरकार छलफल गर्न तयार रहेको उहाँले बताउनुभयो । बैदेशिक लगानीको सुरक्षाको चिन्ता नगर्न अपिल उहाँले नेपालका नीजि क्षेत्रका व्यवसायीहरुले अन्तर्राष्ट्रिय लगानीको लागि आफ्नो ठाउँबाट पहल गर्न आग्रह गर्नुभयो ।

समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रदेश नम्बर एक भू अर्थतन्त्रको हिसाबले महत्वपूर्ण स्थानमा रहेको भन्दै नेपालको बंगलादेशसम्मको पहुँच यहि प्रदेशबाट सुरु हुने धारणा राख्नुभयो । बंगलादेशको सबैभन्दा कम दुरीमा पर्ने बिन्दु झापाबाट २७ किलोमिटर टाढा रहेको भन्दै उहाँले भन्नुभयो, “कनेक्टिभिटी बिना अब देशको समृद्धि हासिल हुँदैन, त्यसैले झापालाई बंगलादेशसंग आधुनिक भौतिक पूर्वाधारले जोड्न प्रदेश सरकारले केन्द्र सरकारसंग संयोजन गर्न जरुरी छ ”

यदि फुलबारी बंगलाबन्ध करिडोरलाई स्तरोन्नति गरेर प्रयोगमा ल्याइयो भने नेपालको भूराजनीतिमा मात्र होइन, भू अर्थतन्त्रमा नै कायापलट गर्न सकिने श्रेष्ठको भनाइ थियो । चीन–नेपाल–भारत त्रिदेशीय आर्थिक करिडोरको बहस चलिरहेको बेला अध्यक्ष श्रेष्ठले नेपालको कनेक्टिभिटी चीनदेखि बंगलादेशसम्मको हुनुपर्ने नयाँ अवधारणा अगाडी सार्नुभयो । त्यसको लागि प्रदेश सरकारले उद्योग स्थापनाको लागि केहि महत्वपूर्ण ठाउँहरु नीजि क्षेत्रलाई लिजमा दिनुपर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा प्रदेशस्तरका सरकारी निकायका प्रतिनिधिहरु, दसवटै जिल्लाका चेम्बर अफ कमर्सका अध्यक्षहरु र सम्पूर्ण राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.