![]()
बीबीसी । आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहपछिको मत सर्वेक्षणहरूले ठूलो संख्यामा मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्षमा मतदान गरेको देखाएका छन्।
द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका छन्। आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले ‘इतिहास रच्न लागेको’ जस्तो देखिएको बताएका छन्।
उनले गर्भपतनसम्बन्धी कानूनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका थिए।
संविधानमा भएको व्यवस्थाले गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चाको पनि अधिकार रहेको उल्लेख गरेको छ। आरटीइले गरेको मत सर्वेक्षण अनुसार हटाइनुपर्ने पक्षमा ६९ दशमलव ४ प्रतिशतले मतदान गरेका छन् भने ३० दशमलव ६ प्रतिशतले अहिलेको प्रवाधानलाई निरन्तरता दिनुपर्ने पक्षमा मतदान गरेका छन्।
डब्लिनमा ७९ प्रतिशत मतदाताले उक्त संवैधानिक प्रावधान हटाउनुपर्ने पक्षमा मतदान गरेको आरटीइले जनाएको छ। द आइरिस टाइम्सले सार्वजनिक गरेको जनमत सर्वेक्षणको नतिजा अनुसार हुन्छ भन्ने पक्षमा ६८ प्रतिशतले र हुन्न भन्ने पक्षमा ३२ प्रतिशत मतदाताले मत खसालेका छन्।


