![]()
भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन्।
निर्माणाधीन विमानस्थलको अनुगमनपछि मन्त्री अधिकारीले निजी क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए प्रतिष्पर्धी बनाउन नसकिने बताए। उनले आगामी वर्ष विमानस्थल सञ्चालनमा आउनेगरी काम अगाडि बढाउन आफूले निर्देशन दिइसकेको र १५–१५ दिनमा विमानस्थल निर्माणको अनुगमन गरिरहेको समेत जानकारी दिए।
मन्त्री अधिकारीले काठमाडौंको विकल्पका रुपमा गौतमबुद्ध विमानस्थल रहने पनि बताए। उनले अहिले विमानस्थलको काम सन्तोषजनक रुपमा अगाडि बढेको बताए। यसअघि उनले चैत २४ गते विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए।
विमानस्थल निर्माण आयोजना प्रमुख इञ्जिनियर ओम शर्माले विमानस्थलको हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए। उनले रन–वेको सव वेसको काम सकिएर बेस लेयरको काम भइरहेको बताउदै वर्षादपछि रन–वेको पिचको काम सुरु हुने बताए।
इञ्जिनियर शर्माका अनुसार, कन्ट्रोल टावर र प्रशासनिक भवनको काम आधाभन्दा बढी सकिएको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवनकोे अन्तिम तलाको ढलान यसै साताभित्र पूरा हुनेछ। उनले आगामी पुससम्ममा विमानस्थल एउटा स्वरुपमा आउने बताए।
आयोजनाले सन् २०१९ सालमा विमानस्थल सञ्चालनमा ल्याउनेगरी काम अघि बढाइरहेको छ।


