Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र उत्तर कोरियाली नेता किम जङ अनबीच जुन १२ तारिखमा तय भएको शिखर बैठक निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन्। उनले संवाददाताहरूलाई उत्तर कोरियाले निश्चित शर्तहरू पूरा नगरे उक्त शिखर बैठक पर सर्ने बताए।

प्योङयाङले संयुक्त राज्य अमेरिकाले एकपक्षीय ढंङ्ले निःशस्त्रीकरणमा जोड दिए वार्तामा नबस्ने चेतावनी दिएको छ। तर अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउन वाशिङटनले प्रयास गरिरहेको जानकारी दिए।

उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन हाल वाशिङटनमा छन्। उनलाई ह्वाइट हाउसमा स्वागत गर्ने क्रममा ट्रम्पले किमसँगका वार्ता पर सर्न सक्ने जानकारी दिएका हुन्।

दक्षिण कोरियाली राष्ट्रपति मून र राष्ट्रपति ट्रम्पबीचको बैठकले जुनमा हुने शिखर बैठकका विषयहरू तय गर्ने ठानिएको थियो। कोरियाली सञ्चारमाध्यमहरूका अनुसार मूनले ‘किमबाट के अपेक्षा गर्ने र के नगर्ने भन्नेबारे ट्रम्पसँग छलफल गर्ने सम्भावना’ रहेको छ। तर उत्तर कोरियाले नाटकीय रूपमा आफ्नो व्यवहार परिवर्तन गरेपछि अहिले उक्त वार्ता कसरी जोगाउने भन्नेमा प्रयासहरू केन्द्रित छन्।

राष्ट्रपति ट्रम्पले उक्त ऐतिहासिक बैठकमा विलम्ब हुन सक्ने भन्दै वार्ताबाट अलग हुने उत्तर कोरियाली चेतावनी पछाडि चीनको हात हुन सक्ने आशंका गरेका छन्। तर दिउँसो आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओ अलि सकारात्मक ढंङ्गले प्रस्तुत भए। उनले जुन १२ तारिखमा हुने भनिएको शिखर बैठकका लागि अमेरिकाले काम गरिरहेको उल्लेख गरे। दुवै पक्षले नेतृत्वदायी कूटनीतिक भूमिका देखाएर शिखर बैठक आयोजनाको प्रयास गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.