Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बागलुङ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि मुक्तिनाथ दर्शन गर्ने भारतीय दर्शनार्थीको संख्या ह्वात्तै बढेको छ । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास पनि छ । बौद्ध धर्मावलम्बी भने करुणाका अवतार अवलोकितेश्वरका रुपमा मान्छन् ।

सन् २०१८ जनवरीदेखि गत अप्रिलसम्म आठ हजार ५५६ भारतीय पर्यटक मुक्तिनाथ पुगेका छन् जुन सोही अवधिमा मुक्तिनाथ घुम्ने विदेशी पर्यटकको आधा बढी संख्या हो ।

गत पाँच महिनामा १६ हजार ९८४ विदेशी पर्यटकले मुक्तिनाथ भ्रमण गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित सूचना केन्द्रका अनुसार गत अप्रिल महिनामा मात्र नौ हजार १०५ विदेशी पर्यटक मुक्तिनाथ पुगेका थिए । तीमध्ये भारतीय पर्यटकको संख्या चार हजार ५३७ रहेको छ । एक्यापको आँकडानुसार मुक्तिनाथ घुम्ने भारतीय पर्यटकको संख्या वर्षेनी बढेको देखिन्छ ।

सन् २०१७ मा मुस्ताङ भित्रने भारतीय पर्यटकको संख्या २४ हजार ८८८ थियो । पछिल्लो सात वर्षमा करीब सवा लाख भारतीय तीर्थयात्रीले मुक्तिनाथ दर्शन गरेको पाइएको छ । भूकम्प गएको वर्ष सन् २०१५ मा भने सबैभन्दा थोरै आठ हजार ४५९ भारतीय पर्यटकले मुक्तिनाथको भ्रमण गरेका थिए ।

मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङको प्राकृतिक सुन्दरताले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्ने भएकाले पनि मुक्तिनाथको प्रसिद्धि चुलिएको हो । मुस्ताङ र मनाङ जोड्ने चर्चित ‘थोरङ्ला पास’ जाने पर्यटक पनि मुक्तिनाथ भएर जाने गर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.