![]()
काठमाडौ । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेका छन् । अब दुवै दल नेपाल कम्युनिस्ट पार्टी नामबाट चिनिने छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा बिशेष समारोहकाबीच पार्टी एकता घोषणा गरिएको हो ।
घोषणासभामा दुवै पार्टीका नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले मुलुकको विकास र समृद्धिका लागि यो एकता कोशेढुंगा सावित हुने बताए । कम्युनिष्टको इतिहास फुटैफुटले भरिएको भएपनि कम्युनिष्टहरु जुटन पनि सक्छन भन्ने प्रमाण आफूहरुले संसारभर दिएको उनीहरुले बताए ।
वाम एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । त्यसपछि दुवै दलको केन्द्रीय समितिले निर्णय अनुमोदन गर्दै आ–आफ्नो केन्द्रीय समिति भंग गरेका थिए ।
त्यसपछि एकीकृत पार्टीको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो र त्यहाँ केन्द्रीय सदस्यहरुले नयाँ पार्टीको सदस्यको रुपमा सपथ पत्रमा हस्ताक्षर गरेपछि सपथ ग्रहण गरे । बैठकले पार्टी एकतालाई ऐतिहासिक भनेको छ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीको अनुसाशन र मर्यादाभित्र बस्न केन्द्रीय सदस्यलाई निर्देशन दिए। बैठकले दुवै पार्टीको नाममा रहेको सम्पत्ति र दायित्व अब नेपाल कम्युनिस्ट पार्टीको हुने निर्णय गरेको छ।
बिहीबार नै निर्वाचन आयोग पुगेर दल पनि दर्ता गरिएको छ ।
के के भयो सहमति :
- एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने। दुई अध्यक्षात्मक प्रणाली अपनाइने। दुवै नेता पार्टीका निर्णय उत्तिकै शक्तिशाली
- नौ सदस्यीय सचिवालय रहने। सचिवालयमा दुई अध्यक्ष सहित माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहने छन्। त्यसबाहेक नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सचिवालयमा रहनेछन्। पार्टीको प्रवक्ता जिम्मेवारी श्रेष्ठालाई दिइएको छ। पार्टीको महासचिव पौडेल हुनेछन्।
- सचिवालयले पार्टीका पोलिटब्युरो, जनवर्गीय संगठन लगायतको एकता र व्यवस्थापन गर्ने
- केन्द्रीय समिति ४४१ र स्थायी समिति ४५ सदस्यीय हुने।
- मार्क्सवाद लेनिनवाद पार्टीका मार्गदर्शक सिद्धान्त हुने।
- एक्काइसौ शताब्दीको जनवाद, माओवादी लगायतका सिद्धान्तमा महाधिवेशनसम्म छलफल चलाउँदै जाने।
संघर्ष पछि एकता
कुनै समय एक अर्कालाई सिध्याउने सम्मको टकरावमा रहेका दुई दल पछिल्लो चुनावी गठबन्धनबाट पार्टी नै एक हुने विन्दुमा पुगेका हुन्। शान्तिपूर्ण राजनीतिक धारबाट उदाएको एमाले र हतियारसहितको संघर्षले बलियो बनेको माओवादी दुवै एक अर्काको इतिहासलाई सम्मान गर्दै आगामी दिनमा एउटै बाटोमा हिड्न तयार भए।


