Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौ,जेठ ।
सत्तारूढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकता घोषणा हुँदैछ । बिहिबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ। समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता हुने र साँझ पत्रकार सम्मेलन गर्ने भएको छ। प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान भएको निर्णायक वार्ताले एकतालाई अन्तिम रुप दिने सहमति गरेको थियो ।
एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औँ स्मृति दिवसका दिन आज पार्टी एकताको ऐतिहासिक घोषणा हुन लागेको हो । दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवादी—लेनीनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सह–अध्यक्ष) गर्नेलगायत विषयमा सहमति भइसकेको छ।
एकीकृत पार्टीमा दुवै अध्यक्ष पार्टी प्रमुखका रूपमा रहनेछन्। दुवै सहअध्यक्षको हैसियतमा रहनेछन्। पार्टी बैठकको दुवैले पालैपालो अध्यक्षता गर्ने सहमति छ । दुवैमा बराबर कार्यकारी अधिकार रहनेछ । नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिह्न सूर्य राख्ने सहमति भएको छ। यो चिह्न यसअघि एमालेको थियो । एकता अन्तर्गत एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ। यस्तै, स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य गरी ४१ जना रहने सहमति भएको छ। यस्तै उनीहरूले १४५ पोलिटब्युरो सदस्यी बनाउने सहमति गरेका छन्।
यसरी १० तहको कमिटी बनाउने निर्णयसमेत गरेका छन् जसमा स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर–उपमहानगर–नगर–गाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटी हुनेछन्।
गत असोज १७ गते भएको चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए। एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी‘नेपाल कम्युनिष्ट पार्टी’ जनमतका आधारमा इतिहासकै ठूलो पार्टी हुनेछ। संघीय संसद्को निर्वाचन अन्तर्गत प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ। दुवैको जोड्दा दुई तिहाइभन्दा १० सिट कम अर्थात् १७४ सिट हुन्छ। जसले ५२.३७ प्रतिशत जनमतको प्रतिनिधित्व गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.