![]()
एजेन्सी । फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न यो कदम चालेको हो ।
फेसबुकले सन् २०१८ को पहिलो तीन महिनामा ५८ करोड तीस लाख अकाउन्ट हटाएको छ। कम्पनीका अनुसार हाल भइरहेका अकाउन्टमध्ये पनि ३ देखि ४ प्रतिशत फेक नै छन्।
त्यस्तै कम्पनीले ८६ करोड ५० लाखभन्दा बढी पोस्टहरू पनि हटाएको छ। हिंसा फैलाउने, आतंकवादी गतिविधिसँग सम्बन्धित, अश्लिलता झल्काउने किसिमका तस्बिर प्लेटफर्मबाट हटाइएको हो।
त्यस्तै फेसबुकले आफ्नो प्लेटफर्ममा रहेका २०० वटा एप्स पनि हटाएको छ। यी एपबाट प्रयोगकर्ताको निजी डाटा गलत रूपमा प्रयोग हुने खतरा रहेको कम्पनीको भनाइ छ।
केही समयअघि फेसबुकले आफ्नो प्लेटफर्ममा के–के पोस्ट गर्न नमिल्ने भन्ने सूची नै जारी गरेको थियो। जसअनुसार कुनै पनि नग्न तस्बिर, हिंसा र आक्रोश फैलाउने, आतंकवादी गतिविधिलाई बढावा दिने जस्ता पोस्ट नगर्न बताएको थियो।
फेसबुकको मापदण्डभन्दा बाहिर गएर पोस्ट गर्नेको अकाउन्ट बिना जानकारी डिलिट वा ब्लक हुन सक्नेछ।


