![]()
भद्रपुर,जेठ ।
सरकारले बाढीपीडितलाई पठाएको रकमबाट जनप्रतिनिधि र कर्मचारीले कमिशन लिएको भन्दै कारवाहीका लागि बाढीपीडितले जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाएका छन् । १३ जना पीडितसहित राजनीतिक दलका प्रतिनिधि, वडा सदस्य लगायत गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई दोषीलाई कारवाहीको माग गर्दै लिखित पत्र बुझाएका हुन् । झापाको कचनकवल गाउँपालिका १ का बाढीपीडितबाट वडा कार्यालयका वडाध्यक्ष लक्ष्मीनारायण यादव र घरधुरी सङ्कलन गर्न गएका करारमा नियुक्त भएका कर्मचारीद्धय पञ्जु राजवंशी र शर्मिला राजवंशीले बाढीपीडित परिवारबाट १० हजारको दरले कमिशन लिएको पीडित परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालय झापामा मंगलबार लिखित उजुरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।
पीडितका अनुसार बनियानीस्थित कचनकवल गाउँपालिकाको कार्यालयमा बाढीपीडितको नामावली हेर्दे बाढी पीडितलाई सही छाप गराउँदै २५ हजारको दरले रकम वितरण गरेका थिए । तर, रकम पाएलगतै बाढीपीडितका परिवारबाट जनप्रतिनिधि र कर्मचारीले १० हजारको दरले रकम लिएको छ । एक पीडित महिलाका अनुसार आधा रकम नदिए पैसा नदिने धम्की दिएपछि उनले करारमा खटाइएको पञ्जुलाई १० हजार दिएको बताएका छन् ।
बुझाएको पत्रअनुसार कचनकवल गाउँपालिका १ साविक घेरावारीका बाढीपीडितको लागि आएको तेस्रो किस्ताको राहत रकममध्ये वडाध्यक्ष यादव र कर्मचारीद्वय पञ्जु र शर्मिलाले कमिशन लिएकोले तत्काल आवश्यक कानुनी कारवाही गरी उचित न्याय दिलाउन माग गरिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालय झापाले कचनकवल गाउँपालिका १ सय ४७ घरपरिवारका लागि ३६ लाख ७५ हजार रुपैयाँ पठाएको थियो ।
प्रमुख जिल्ला अधिकारी दाहालले यस बारेमा छानबिन गरी तत्काल कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।


