![]()
हेर बुढ़ी एउटा छोरा त चाहिन्छ होला..
बुढाले आफ्नी अर्धांगिनीसँग गुनासो पोख्दै थियो।
ह्या म त अब सक्दिन बुढा एउटी छोरी एघार वर्ष पुगीसकि यस बीचमा हामीले
तीन ओटा गर्भपात गरायौं।
म पनि त मान्छे हो मैले कति सहन सक्नु ? आफ्नै कोखमा भैरहेको भ्रूणहत्याले मलाई पोलिरहेको छ। बरु हजुर अर्को विवाह गरिस्यो।
श्रीमती को क़ुरा सुनेर आत्मग्लानिका साथ पुर्लुक्क बुढ़ीलाई हेर्दै थियो।
दुबैजना का आँखा चिसीएका थिए। एक्छिन वातावरण मा सन्नाटा छायो।
तत् पश्चात निन्याउँरो पारामा बुढाले पुनः जिज्ञासा राख्यो।
–‘शान्ति’ म तिमीलाई छोडेर अरु सँग विहे गरुँ यो त हुनै सक्दैन तर एउटा अर्को विकल्प छ।
–के विकल छ भनिस्यो न ?
–बरु हामीले कुनै अनाथालयबाट एउटा बच्चालाई गोद लिनु पर्छ।
यसो गर्नाले तिम्रो ज्यान लाई पनि असर हुँदैन र अर्को कुरा त्यो अनाथ बच्चाले बाबुआमा पाउने छ। यसो गरे कसो होला ?
–हजुर म सहमत छु मलाई चित्त बुझ्यो हजुरको कुराले
दुबैजनाको आँखामा एउटा चमक थियो।
केहि दिन पश्चात उनीहरुले अनाथालयबाट सात वर्षको एउटा बच्चा लिएर आए।
बच्चा निकै सुन्दर थियो पोटिलो गाला घुंगराले कैलो कपाल गोरो चिट्ट परेको र कालो आँखा आहा.. हेर्दा बित्तिकै ममता छल्किन्थ्यो। उसको नाम‘प्रज्वल’ राखिदिए। पहिला राजु राजु भनेर बोलाउने नाम उनीहरु लाई मन नपरेको हुनाले नाम परिवर्तन गरेका थिए।
समय बितेको त कहाँ थाहा हुन्छर ? छोरीको विहे भयो उसका दुई ओटा बच्चाहरु पनि जन्मिए छोरी को विहे १८ वर्षमै भएको थियो ५ वर्ष भित्रै १ छोरा १ छोरी की आमा बनिसकेकी थिइन्।
यता गोद लिएको छोरो पनि २० वर्ष पुग्न लागेछ। यसैगरी दिन बिते महीना अनि साल बितेको पत्तो भएन।
छोरो प्रज्वल पनि आज २५ वर्ष पुग्यो। घरमा विहेको क़ुरा चल्न थाल्यो। केहि महीनाको अंतराल पछि एउटा सुशील गुणवान कन्यासँग उसको विहे पनि भयो।
एकदिन हृदयाघातको कारण अचानक ‘आमा’ शान्तिको मृत्यु हुन्छ।
सबै दुखी थिए र बिचरा बुढा लाई बुढेशकालमा एक्लो बनाएर शान्तिले स्वर्गारोहण गरेकी थिइन्।
समयले पनि काँचुली फेर्दै गयो छोरा प्रज्वल पढ़ाईमा अव्वल थियो त्यसैले उसले बैंकमा मेनेजर दर्जामा नियुक्ति पाएको थियो।
बुहारी (सरस्वती) निकै समझदार थिइन् । उनले ससुरा बुबाको धेरै ख्याल राख्ने गर्थिन्। तर छोराले बाबुलाई सुस्त सुस्त मन बाट निकाल्दै थियो किनकी उसले जति जे कमाए पनि
सबै व्यभार बाबुको हातमा थियो जो उसलाई फिटिक्कै मन पर्दैनथ्यो ।
पछि पछि त आफ्नो बाबुलाई सानो सानो कुरामा ताना सुनाउने रुखो वचन लगाउने गर्न थाल्यो।
यस्तै गरि केहि साल बित्यो प्रज्वल ले बाबुलाई धेरै दुख दिन थाल्यो। सरस्वती ले धेरै सम्झाईंन् । तर प्रज्वल ले सरस्वतीको कुनै क़ुरा सुन्ने गर्थेन।
एकदिन उसले आफ्नो असली रूप देखाउँदै बाबुलाई भन्यो।
बाबा म अब सरस्वती लाई लिएर काठमाण्डु जान्छु मेरो ट्रांसफर भयो अब हामी उतै बस्छम।
–म कहाँ जाम त छोरा ? (सास रोकिएला जस्तो गरि बाबुले सोधे )
बाबा हजुरलाई उहाँ जान ठीक हुँदैन एउटा सानो कोठा छ। कसरी बस्न मिल्छ र ?
यहाँ घर मा एक्लै बस्ने कुरो पनि भएन म हजुरलाई वृध्दाश्रम छोड्छु। उहाँ हजुर जस्तै धेरै मान्छे हुनुहुन्छ। त्यहिं हजुरको मन पनि लाग्छ।
छोराको यो रूप देखेर पहिलो चोटी बुढाले सोंच्यो की आफ्नो खून त आफ्नो हुन्न पराई झन के आफ्नो हुन्छ र ?
सबै सम्पति छोराको नाममा गरीदिनु पनि ठुलो भूल भएछ। अब पछुतो मानेर के गर्नु ?
बुहारी यो सबै सुनेर रुदै थिई।
बुढाले पनि रुन्चे स्वरमा हुन्छ छोरा भनेर सहमति जनायो।
प्रज्वल आफैले बाबुलाई बृद्धाश्रममा छोड़न गयो।
त्यहाँ पुग्ने बित्तिकै त्यहाँको मेनेजरलाई देखेर बुढो एकदम खुशी भयो। दुबै जना निकै घनिष्ठ मित्र झै हांस्दै गला मिलाउँदै थिए।
यो सबै देखेर छोरोले अचम्म मान्दै सोध्यो।
हजुरहरु एक अर्कालाई चिन्नु हुन्छ र ?
यो दाइले २३, २४ वर्ष पहिला मेरो आश्रमबाट एउटा अनाथलाई गोद लिनु भएको थियो त्यति बेला देखी हाम्रो दोस्ती छ। मेनेजरले मुसुक्क हांस्दै जवाफ दियो।
प्रज्वललाई सत्य तथ्य को बोध भैसकेको थियो तर पनि उसको मनमा खोट रैछ बाबा लाई त्यहिं छोडेर गयो। फेरी कहिल्यै फर्किएर हेरेन।
बुढा पनि अहिले घरमा भन्दा धेरै खुशी छन् सायद उनको यही अन्तिम गन्तव्य रहेछ ।

