Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पल्सर स्पोर्ट्स अवार्ड खेलाडी मनोनयन सार्वजनिक, तीन विधामा परे सन्दिप

Loading

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरेको छ । मञ्चले चार विधामा मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

वर्षका उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेट टिमका कप्तान पारस खड्कासँगै क्रिकेटकै सन्दीप लामिछाने परेका छन् । त्यस्तै, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की रहेका छन् ।

त्यस्तै, वर्षका उत्कृष्ट महिला खेलाडी विधामा बक्सिङकी विमला श्रेष्ठ, ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ परेका छन् ।

आर्चरीकी ज्ञानु अवाले र फुटबलकी सावित्रा भण्डारी यसअघि २०७३ सालको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सर्वोत्कृष्ट विधामा परेका थिए ।  वर्षका उत्कृष्ट युवा खेलाडीमा क्रिकेटका सन्दीप लामिछानेसँगै दिपेन्द्रसिंह ऐरी परेका छन् । त्यस्तै, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयनमा परेका छन् ।

दीपेन्द्रसिंह ऐरी र मनिता श्रेष्ठ प्रधान यसअघि सम्पन्न २०७३ सालको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विधाको वर्ष उत्कृष्ट युवा खेलाडीमा परेका थिए ।

वर्षका उत्कृष्ट प्रशिक्षकमा क्रिकेटबाट दुई प्रशिक्षक परेका छन् । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दास मनोनयनमा परेका छन् । त्यस्तै, फुटबलबाट छिरिङ लोप्साङ गुरुङ, बक्सिङबाट प्रकाश थापामगर र ब्याडमिन्टनबाट जयन्त कुमार श्रेष्ठ मनोनयनमा परेका छन् ।

जगत टमाटा २०७३ सालको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विधाको वर्ष उत्कृष्ट प्रशिक्षक विधामा परेका थिए । मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा भने जेठ ३ गते अवार्ड कार्यक्रममै गरिनेछ ।

यसअघि नै पिपुल्स च्वाइस अवार्डका मनोनयन भने सार्वजनिक भइसकेको छ । पिपुल्स च्वाइस अवार्डमा क्रिकेटबाट सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, टेबलटेनिसबाट स्यान्टु श्रेष्ठ, गल्फबाट प्रतिमा शेर्पा र भलिबलबाट मानबहादुर श्रेष्ठ परेका छन् ।

मञ्चले प्रत्येक वर्ष प्रदान गर्दै आएको स्पोटर््स अवार्ड यो १५ औं संस्करण हो । यो पटक पनि ८ विधामा उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक र खेलकुदकर्मीलाई अवार्डबाट सम्मान गर्न लागेको हो । पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड भने कार्यक्रममै घोषणा गरिनेछ ।

यसपटकदेखि ४ विधाका उत्कृष्ट हुनले मोटरसाइकल हात पार्नेछन् । वर्षका उत्कृष्ट महिला, पुरुष, युवा खेलाडी र प्रशिक्षकले मोटरसाइकल पाउनेछन् । त्यस्तै, अन्य विधाका विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed