![]()
एजेन्सी,बैशाख ।
स्पेनिस ला लिगा फुटबलमा तेस्रो स्थानको रियल मड्रिडले सिजनको अन्तिम घरेलु खेलमा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ६ – ० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन ग्यारेथ बेलले दुई गोल गरे । त्यस्तै इस्को, आक्रफ हाकिमी र टोनी क्रुसले समान एक–एक गोल गरे । रियलले एक गोल आत्मघाती उपहार पाएको थियो । सेल्टाका सर्जी गोमेजले आत्मघाती गोल गरेका थिए ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको रियलले दुवै हाफमा समान ३ – ३ गोल गरेको थियो । रोनाल्डो च्याम्पियन्स लिगको दौरान बोकेको चोटका कारण मैदान बाहिर रहेका छन् । रोनाल्डोको अनुपस्थितिमा बेलले खेलको १३ औं मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ३० औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट नबित्दै इस्कोले गोल गरेपछि रियल पहिलो हाफमा ३ – ० ले अघि रह्यो ।
दोस्रो हाफमा पनि रियलले गोलको लय कायम राख्यो । खेलको ५२ औं मिनेटमा हाकिमीले गोल गर्दै रियललाई ४ – ० को अग्रता दिलाए । ७४ औं मिनेटमा सेल्टाका गोमेजले आत्मघाती गोल गर्दा रियलले ५ – ० को अग्रता बनायो । त्यसपछि खेलको ८१ औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई ६ – ० को जित दिलाए ।
यो जितसँगै रियलले ३७ खेलबाट ७५ अंक जोडेको छ । लिगमा एक खेल बाँकी रहदा रियल च्याम्पियन बार्सिलोनाभन्दा १५ अंकले पछि परेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ९० अंक छ । यस्तै दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७८ अंक छ । रियलसँग पराजित सेल्टा ४६ अंक जोडेर १३ औं स्थानमा छ ।


