Breaking News.... EverestOnlineKhabar
August 31, 2026

जापानमा सांसदले अविवाहित महिला राज्यका लागि भार भनेपछि हंगामा

Loading

बीबीसी । जापानको सत्ताधारी पार्टीका एकजना सांसदले जापानी युवतीहरूले बढी बच्चा जन्माउनु पर्ने नभए तिनीहरू राज्यका लागि भार हुने टिप्पणी गरेपछि उनले लैङ्गिक भेदभाव गरेको भनी आलोचना भइरहेको छ। सत्ताधारी एलडीपी पार्टीको बैठकमा बोल्दै ती सांसद कान्जी कातोले युवतीहरूले कम्तीमा तीन जना बच्चा जन्माउनु पर्ने बताएका थिए।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उनले आफ्नो विवादास्पद भनाइ फिर्ता लिइसकेका छन्। गत वर्ष जापानमा बालबालिकाको प्रतिशत सय वर्षभन्दा अघि देखिको अवधिमा सबैभन्दा न्यून विन्दुमा झरेको थियो।

आर्थिक भार

परिवारको आकार ठूलो पार्नका लागि प्रोत्साहन स्वरूप गरिएको आर्थिक तथा अन्य सहुलियतको व्यवस्था खासै प्रभावकारी हुन सकेको देखिएको छैन। सांसद कातोले आफूले विवाह समारोहमा सहभागी भएर प्रवचन दिनुपरेको बेला नवविवाहित जोडीलाई कम्तीमा तीन बच्चा जन्माउन भन्ने गरेको बताएका थिए। उनको त्यस्तो टिप्पणीलाई जापानको आशाही शिम्बुन समाचारपत्रले छापेको थियो।

७२ वर्षीय कातोले आफूले विवाह गर्ने चाहना नराख्‍ने महिलाहरूलाई भेटेको बेला तिनीहरूको बुढेसकाल वृद्धाश्रममा बित्ने र त्यसको खर्च अरू मानिसका छोराछोरीले तिरेको करबाट चल्ने भनेर बताउने गरेको भनेका थिए। उनको त्यस्तो भाषणलाई कतिपय महिला सांसदहरूले आलोचना गरेका थिए।

एक स्थानीय पत्रिकाका अनुसार बैठकमा एकजना महिला सांसदले त्यस्तो सम्बोधनलाई “यौन हिंसा” भनेको जनाएको छ। आलोचनापछि एक वक्तव्य जारी गर्दै सांसद कातोले भनेका छन्,”मेरा शब्दहरूले गलत अर्थ दिएकामा म क्षमाप्रार्थी छु। महिलाहरूलाई भेदभाव गर्ने मेरो कुनै चाहना होइन। तर मेरा शब्दहरूले त्यस्तो अर्थ दिन सक्ने हुँदा म आफ्नो भनाइ फिर्ता लिन्छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.