![]()
टोकीयो,बैशाख ।
बालबालिकाको सङ्ख्या ३७ औँ पटकमा फेरि पनि सर्वाधिक न्युन रहेपछि जापानले नयाँ रेकर्ड बनाएको छ । हरेक वर्ष सरकारले जनसङ्ख्या वृद्धिका लागि विभिन्न अभियान चलाउने गर्ने गरेपनि देशमा वृद्धहरुको जनसङ्ख्या अधिक रहेको छ भने १४ वर्ष भन्दा मुनिका बालबालिकाको सङ्ख्या लगातार घट्ने क्रममा रहेको सीएनएनले जनाएको छ । १२ करोड जनसङ्ख्या रहेको जापानमा अप्रिल १ गतेका दिन गरिएको सर्वेक्षणमा जम्मा १ करोड मात्र बालबालिकाहरु रहेको पत्ता लागेको हो । अर्कोतर्फ कूल २५ प्रतिशत जनसङ्ख्या रहेका वृद्धहरुको सङ्ख्या भने ३ करोड भन्दा बढी रहेको छ ।
सन् १९८१ देखि नै जापानमा बालबालिकाको जनसङ्ख्यामा कमी आउन सुरु भएको थियो । प्रधानमन्त्री सिन्जो आबेको प्रशासनले जापानीहरुलाई धेरै छोराछोरी जन्माउन प्रोत्साहन गर्नकै लागि थुप्रै प्रयास गरिसकेको छ तरपनि पछिल्लो वर्षको तुलनामा यसको दर झन घट्न पुगेको बताइएको हो । हाल जापानमा कूल १२ प्रतिशत जनसङ्ख्या मात्र १४ वर्ष भन्दा मुनि रहेका छन् जसलाई अमेरिका, चीन लगायतका देशसँगको तुलनामा अत्यन्तै कम मानिएको छ ।
अमेरिकामा बालबालिकाको जनसङ्ख्या १८ प्रतिशत र चीनमा १६ प्रतिशत छ भने भारतमा चाहिँ ३० प्रतिशत रहेको छ । सन् २०११ को जनगणना अनुसार नेपालमा भने ३४ प्रतिशत बालबालिकाहरु चौध वर्ष मुनिका रहेका छन् । दशकौँदेखि जनसङ्ख्या कम रहेकै कारण जापानमा कामदारको अभाव लगायत विभिन्न आर्थिक समस्याहरु देखा पर्ने गरेको छ । यसरी नै जनसङ्ख्या कम भएको विश्वका अन्य मुलुकहरुमा भने बढ्दो दरमा आप्रवासीहरु भित्र्याइने गरिएको छ ।
तर जापानमा आप्रवासीहरु केबल १.३ प्रतिशत मात्र रहेका छन् । उता अमेरिकामा चाहिँ ७ प्रतिशत मानिसहरु आप्रवासीका रुपमा बसोबास गर्दै आएका छन् ।


