Breaking News.... EverestOnlineKhabar
June 27, 2026

जनताको बहुदलीय जनवाद (जवज) छोड्न नसकिने एमाले शीर्ष नेताहरुको उद्घोष

Loading

काठमाडौ,बैशाख ।
नेकपा एमालेका अध्यक्षसहित शीर्ष नेताहरुले कुनैपनि हालतमा जनताको बहुदलीय जनवाद(जवज) छोड्न नसकिने अडान राखेका छन् । नेकपा एमालेका नेताहरुले कार्ल मार्क्सले प्रतिपादन गरेको मार्क्सवादको नेपाली संस्करण जनताको बहुदलीय जनवाद (जवज) भएकाले छाड्न नसकिने बताएका छन् । दुई वाम दलको एकता प्रक्रियापछि एमालेको जवज र माओवादी केन्द्रको २१ औं शताब्दीको नौलो जनवाद के हुने ? वहस चलिरहँदा एमाले नेताहरुको यो पछिल्लो धारणा आएको हो । मार्क्सको दुई शतवार्षिकी कार्यक्रममा शनिबार यहाँ धारणा राख्दै नेताहरुले जवजको अडान राखेका हुन् ।
एमाले तत्कालिन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जवज अहिलेको समाज रुपान्तरणको मुख्य सिद्धान्त भएको पनि एमाले नेताहरुको दाबी छ । त्यस्तै, माओवादी केन्द्रसँग हुन लागेको एकता प्रक्रियाको गृहकार्य अन्तिम चरणमा पुगेको र केही प्राविधिक विषयमात्र मिलाउन बाँकी रहेकाले चाँडै पार्टी एक हुने नेताहरुले बताए । एकता प्रक्रियामा कुनै समस्या नरहेको र अव दुई पार्टी एक हुनबाट कुनै शक्तिले रोक्न नसक्ने जिकिर नेताहरुको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्क्सवाद नै समाज रुपान्तरणको माध्यम भएको र जवज त्यसकै नेपाली संस्करण भएको बताए । जवजको मूल मर्मको आत्मसात गर्दै मुलुकको रुपान्तरण गर्ने बताउँदै उनले भनेः‘मार्क्सवाद मान्दैन भन्नेहरुले माक्र्सवाद बुझेकै छैनन् भनेर बुझ्दा हुन्छ ।’
एमाले वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले श्रमजीवी वर्गको उत्थान र समाजवाद ल्याउनका लागि दुई पार्टीको एकता अनिवार्य रहेको बताए । दुई पार्टीको एकताबाटै देशको विकास र समाजवादी व्यवस्था कायम भएमा माक्र्सवादको विजय हुने उनले चर्चा गरे । दुई पार्टी एकतामा अब कुनै समस्या नरहेकाले धर्तीको कुनै शक्तिले एकता रोक्न नसक्ने दावी उनले गरे ।
वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक रुपान्तरण गर्ने जिम्मेवारी कम्युनिष्टको काँधमा आएको बताउँदै दुई पार्टीको एकताले समृद्ध नेपाल सम्भव भएको चर्चा गरे । माक्र्स जयन्तीमा दुई दल एक ठाउँमा कार्यक्रम नगरेकोमा आमनागरिकमा केही आशंका उत्पन्न भएको भन्दै नेता नेपालले भनेः‘दुई दलबीचको आपसी सहमतिअनुसार नै अलग अलग कार्यक्रम गर्ने निर्णय भएको हो, एकता प्रक्रियामा समस्या आयो कि भनेर नबुझ्नु होला । एकता प्रक्रियामा कुनै समस्या छैन, चाँडै एकता घोषणा हुँदैछ ।’
वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको वैचारिक सिद्धान्तकारुपमा जवज नै रहने दावी गरे । उनले भनेः‘माक्र्सवादको नेपाली संस्करण जवज भएकाले त्यसलाई कुनै हालतमा छाड्न सकिन्न, नत्र लक्ष्यमा पुग्नै सकिँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.